May 11, 2026, Monday
२०८३ बैशाख २८, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

फेसबुक ह्याक गरेर रकम असुली : समातिए २३ वर्षे युवा

काठमाडौं । फेसबुक ह्याक गरेर रकम असुली गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सुनसरीको दुहबीबाट २३ वर्षीय सविर आलम पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले सुनसरी प्रहरीसँग समन्वय गरेर आलमलाई पक्राउ गरेको एसएसपी दिपक थापाले बताए ।

Advertisement

थापाका अनुसार आलमले विभिन्न व्यक्तिको फेसबुकमा अनाधिकृत रुपमा पहुँच बनाएर ती व्यक्तिको आफन्तसँग पैसा अत्यावश्यक भएको भन्दै १० हजारदेखि ५० हजार रुपैयाँसम्म माग्ने गरेको पाइएको छ ।

‘अफ्ठ्यारोमा रहेको बताउँदै साथीको खाता भनेर आफ्नो बैंक खाता नम्बरमा उनले रकम पठाउन लगाउने गरेका रहेछन्’, थापाले भने, ‘पछिल्लो पटक यसै गरी ठगिएको ५० हजार रुपैयाँ निकाल्दा निकाल्दै उनलाई सुनसरीमा पक्राउ गरेका छौं ।’

महाशाखाका एसपी होविन्द्र बोगटीका अनुसार हालसम्म आलमले ७५ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको छ ।

तर, उनको बैंक खातामा ठूलो परिमाणको कारोबार रहेको पाइएको छ । त्यसैले प्रहरीले विस्तृत अनुसन्धान थालेको छ ।