February 6, 2023, Monday
२०७९ माघ २३, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मातृभाषा पत्रकारिता विकासको लागि १० बुँदे घोषणापत्र जारी

मातृभाषा पत्रकारिता विकासको लागि १० बुँदे घोषणापत्र जारी

काठमाडौं । बहुभाषिक पत्रकारको संरक्षण र दक्षता बृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्न सरकारसँग माग गरेको छ ।

मातृभाषामा पत्रकारिता गर्ने पत्रकारको पहिचान हुन नसकिरहेको अवस्थामा नेवाः पत्रकार राष्ट्रिय दबूले नेपाल आदिवासी जनजाति पत्रकार महासघको सहजीकरणमा मंगलबार राजधानीमा आयोजित दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनमा १० बुँदे घोषणापत्र जारी गर्दै सो माग गरेको हो ।

Advertisement

सो अवसरमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले मातृभाषा पत्रकारिताको संरक्षणमा राज्यले आवश्यक सहयोग गर्नुपर्ने बताइन् । सरकारले व्यवस्थापकीय काम गर्ने हो, बाँकी काम मातृभाषी समुदायले नै गर्नुपर्ने हुन्छ उनले भनिन् । भाषाको विकाससँगै सम्बन्धित समुदायको लीपिको संरक्षणमा लाग्न पनि आवश्यक रहेको उनले सुझाव दिइन् । मातृभाषाको संरक्षणबाटै समुदायको भाषा, संस्कृति, संस्कारको संरक्षण हुने र त्यसले सम्बन्धित समुदायको पहिचान जोगाउने काम गर्नेहुनाले मातृभाषालाई जोगाउन अनिवार्य रहेको उनले बताइन् ।

कार्यक्रममा उपस्थित काठमाडौं महानगरपालिकाकाकी उपमेयर सुनिता डंगोल ।

मातृभाषी पत्रकारले आफ्नो समुदायको विषयमा मात्र खुम्चिनु उचित नहुने भन्नुहुँदै उनले मातृभाषा पत्रकारिताको माध्यमबाट देशको अवस्था, राजनीतिको विषय तथा अन्य पक्षलाई पनि उजागर गर्नुपर्ने उनले सुझाउनुभयो । उपप्रमुख डंगोलले मातृभाषा विकासका लागि राज्यमा रहेका जिम्मेवार निकाय र प्रतिनिधिले सकारात्मक भएर देशको मातृभाषालाई जोगाउन योगदान दिनुपर्ने उनले बताइन् । देश बहुभाषिक, बहुसांस्कृतिक भएकाले यो पहिचान जोगाउन भाषाको संरक्षण अनिवार्य हुने उनले चर्चा गरिन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का वरिष्ठ उपाध्यक्ष लक्की चौधरीले संस्कार, संस्कृतिको संरक्षण गर्न भाषाको संरक्षण अनिवार्य शर्त भएकाले मातृभाषा पत्रकारिता जोगाउन सरकारले आवश्यक सहयोग गर्न आवश्यक रहेको बताए । नेपालको पहिचान नै बहुभाषिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष मुलुक बनिसकेकाले त्यो पहिचान जोगाउन पनि राज्यले मातृभाषा संरक्षणमा जोड दिनुको विकल्प नरहेको उनले बताए । मातृभाषा पत्रकारिताले एकातर्फ भाषाको संरक्षण गरिरहेको र अर्कोतर्फ सम्बन्धित समुदायको आवाज सरकारसँग लग्ने र सम्बोधनमा पैरवी गर्ने तथा राज्यको नीति, नियम तथा निर्णयलाई मातृभाषी नागरिकबीच प्रवाह गर्ने काम गरिरहेको उनले बताए ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले मातृभाषाको पत्रकारिताको संरक्षण र पत्रकारको विकासको लागि सरकारले विशेष नीति ल्याउनुपर्ने माग गरे । मुलुक संघीयता गइसकेपछि सो कार्यमा प्रदेश र स्थानीय तह अझ बढी जिम्मेवार हुनुपर्ने पनि अध्यक्ष बज्राचार्यको भनाई रहेको छ ।

सो अवसरमा पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक नृपेन्द्रलाल श्रेष्ठले सरकारले हरेक वर्ष प्रदान गरिने पत्रकारिता पुरस्कारमा मातृभाषाका पत्रकारहरुलाई पनि प्राथमिकतामा राख्न माग गरे ।

सम्मेलनले आवश्यक कानुन बनाई राष्ट्रिय रुपमा मातृभाषा पत्रकारिताको विकासका लागि वातावरण बनाउन आग्रह पनि गरेको हो । वि।सं १९८२ नेपाल संवत १०४५ बुद्ध जयन्तिका दिन शुरु भएको नेवा मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुनेहुनाले २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरेको छ ।

प्रथम मातृभाषा पत्रकार धर्मादित्य धर्माचार्य ।

त्यस्तै, सम्मेलनले मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकाशित गर्न माग गर्दै त्यसका लागि पहल गर्ने निर्णय गरेको छ ।

मातृभाषामा पत्रकारिता गर्दै आएका पत्रकारको क्षमता विकासका लागि सरकारी तहबाट “धर्मादित्य मातृभाषा पत्रकारिता विकास प्रतिष्ठान” अविलम्ब गठन गर्न माग गर्दै सरकारी स्तरबाट स्थापित प्रेस काउन्सिल नेपाल, विज्ञापन बोर्ड, न्यूनतम पारिश्रमिक निर्धारण समिति, लगायत सरकारी सञ्चार माध्यममा मातृभाषी पत्रकारको समेत अनिवार्य प्रतिनिधित्व हुने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

सो अवसरमा अजितमान तामाङ र सुरेशकिरण मानन्धरले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि विभिन्न मातृभाषी पत्रकारले टिप्पणी तथा धारणा राखेका थिए । कार्यक्रममा मधेसी पत्रकार समाजका मोहन सिंह, लिम्बु मातृभाषी पत्रकार विष्णु लिम्बु, मैथिली भाषाी प्रतिनिधि रुपा झा, तामाङ पत्रकार संघका बुद्ध योन्जन तामाङ,उपेन्द्र प्रधान, शेर्पा सञ्चार समूहका पाशाङ शेर्पा लगायतले आफ्नो धारणा राखेका थिए ।

दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन–२०७९
काठमाडौं घोषणा पत्र(पूर्ण पाठ
)

१. आज भन्दा ९७ वर्ष पहिले वि.सं. १९८२ साल (नेपाल संवत १०४५) बुद्ध जयन्तिका दिन शुरु भएको मातृभाषाको पत्रकारिताको आगामी २०८२ सालमा सय वर्ष पुरा हुँदैछ । यस ऐतिहासिक अवसरमा २०८२ सालको शताब्दी वर्षका रुपमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने यो सम्मेलन घोषणा गर्दछ ।
२ं. विगत ८ वर्षदेखि हरेक वर्ष बुद्ध जयन्तिको अघिल्लो दिन मनाउँदै आइरहेको “मातृभाषा पत्रकारिता दिवस” लाई शताब्दी वर्षदेखि राष्ट्रिय दिवसका रुपमा मनाउने घोषणा गर्दछ ।
३. मातृभाषाको पत्रकारिता शुरु भएको सय वर्ष पुगेको अवसरमा पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यको हुलाक टिकट प्रकासित गर्न सरकार समक्ष माग गर्दै त्यसका लागि पहल गर्ने घोषणा गर्दछ ।

४. वि.सं .१९८२ सालमा पहिलो पटक नेपालभाषामा बुद्धधर्म पत्रिका प्रकाशन गरी मातृभाषाको पत्रकारिता मार्फत भाषा, कला, साहित्य, संस्कृतिको विकासमा योगदान पुर्‍याएका इतिहास पुरुष धर्मादित्य धर्माचार्य ९जगतमान वैद्य० लाई मातृभाषाको पत्रकारिताको प्रेरक व्यक्तिका रुपमा हरेक वर्ष धर्मादित्य धर्माचार्य जन्मजयन्ती मनाउने परम्परा अब सम्पूर्ण मातृभाषी पत्रकार संघसंंस्थाले राष्ट्रिय उत्सवका रुपमा मनाउने यो सम्मेलन घोषणा गर्दछ ।