April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा

झापाको गौरादहमा लिम्बुवान, किरात प्रदेशको पक्षमा कोणसभा

साउन । झापाको पुरानो ऐतिहासिक बजार गौरादहमा प्रदेश नम्बर एकको नामाकरण लिम्बुवान, किरात घोषणा हुनुपर्छ भन्ने नारा घन्काउँदै साउन १६ गते कोणसभा सम्पन्न भएको छ ।

संयुक्त संघर्ष समिति झापाको आयेजनामा सम्पन्न कोण सभालाई सम्बोधन गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय महासचिव तथा संघर्ष समिति कार्यदल सदस्य अशोक चेम्जोङले प्रदेश नम्बर एकको नामकरणको सन्दर्भ उठेको लिम्बुवान आन्दोलनले स्थापित गरेको राजनैतिक मुद्धालाई जातीयतासँग जोडेर कोशीमा बगाउन खोजेकाे आराेप लगाए । उनले राज्यसत्ताका पहरेदारहरुसँग प्रदेश नं. १ को नाम लिम्बुवान, किरात घोषणा नगरे कुनैपनि सम्झौता हुन नसक्ने बताउँदै राष्ट्रिय राजनीतिको मूलधारको रुपमा आफूलाई स्थापित गरेर राज्य सञ्चालन गर्ने गरेको दावी गर्ने सत्ताधारीहरुले लिम्बुवान, किरात प्रदेश घोषणाको मागलाई बेवास्ता गरे भने दीर्घकालसम्म आन्दोलन नरोकिने कुरा राख्दै अन्त्यमा लिम्बुवान, किरात आन्दोलन स्वतन्त्रताको क्रान्तिमा होमिन सक्ने चेतावनी दिए ।

Advertisement

अर्का वक्ता जसपा केन्द्रीय सदस्य तथा कियाचु झापाका सल्लाहकार धिरेन लावतीले प्रदेश नं. १ को नाम लिम्बुवान, किरात प्रदेश घोषणा हुनपर्छ भन्ने माग बिना आधार अघि सारिएको नभई ऐतिहासिक भूगोल र सभ्यताको कुरालाई जोडेर अघि सारिएको र यो लिम्बुवान र किरात भूगोल नै वास्तवमा प्रदेशन न.ं १ को ऐतिहासिक, प्राचीन र साझा पहिचान र अस्तित्वको मूल आधार भएकाले प्रदेश न.ं १ को पहिचानयुक्त साझा नाम र सर्वस्वीकार्य नाम हुन सक्ने दावी गरे ।

यसरी नै कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र सम्बद्ध लिम्बुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य गजेन्द्र मिभकले आन्दोलनले स्थापित भएको पहिचान र अस्तित्वको मागलाई राज्यका सत्ताधारीहरुले स–सम्मान मान्यता दिएर सम्बोधन नगरे फेरिपनि जनक्रान्तिले स्थापित गरि छाड्ने कुरामा जोड दिए ।

कोणसभालाई सम्बोधन गर्दै किरात याक्थुङ् चुम्लुङ् लिम्बुवान प्रदेश सचिव तथा संघर्ष समिमतका कार्यदल सदस्य इक्साहाङ् चेम्जोङले प्रदेश न.ं १ को राजधानी विराटनगर केन्द्रित धर्ना कार्यक्रम साउन १७ गतेदेखि निरन्तर प्रदेश सदन चलिञ्जेल परिचालन गरिने भएकोले सम्पूर्ण पहिचान र अस्तित्ववादी पक्षधरहरु एकजुट भई आन्दोलनमा सहभागी भइदिन आग्रह गर्नुहुँदै प्रदेश न.ं १ को नामाकरण लिम्बुवान, किरात प्रदेश घोषणा हुनुको विकल्प नरहेको कुरा बताए ।

युवा सामाजिक व्यक्तित्व वीरेन्द्र याक्थुङ्बा लगायत विभिन्न सामाजिक संघ–संस्थाका नेता कार्यकर्ताहरुले सम्बोधन गरेको कोणसभा कार्यक्रममा झपाका विभिन्न क्षेत्रका जनसमूहको उपस्थिति भएको थियो ।

किरात याक्थुङ् चुम्लुङ झापा अध्यक्ष तथा लिम्बुवान, किरात संयुक्त संघर्ष समिति झापा संयोजक सेसेहाङ् फियाक लिम्बुको सभापतित्वमा गौरादहको डिपोचौकमा सम्पन्न कोणसभाको कार्यक्रम संयुक्त संघर्ष समिति सदस्य सचिव ओमप्रकाश खापुङ्ले सञ्चालन गरेका थिए ।

गौरादहमा भेला भएका जनसमूले लिम्बुवान, किरात प्रदेश घोषणा गर, पहिचानविनाको संघीयता मान्दैनौ, लिम्बुवान, किरात संयुक्त संघर्ष समिति जिन्दावाद, पहिचानवादीहरु एक हौं भन्ने नारा गुञ्जाउँदै गौरादह बजार परिक्रमा गरेको थियो ।