April 14, 2024, Sunday
२०८१ बैशाख २, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवान, किरात प्रदेशका लागि निरन्तर संघर्ष जारी राख्ने आन्दोलनकारीको उद्घोष

लिम्बुवान, किरात प्रदेशका लागि निरन्तर संघर्ष जारी राख्ने आन्दोलनकारीको उद्घोष

विराटनगर । प्रदेश नम्बर एकको नाम लिम्बुवान, किरात प्रदेश बनाएसम्म संघर्ष जारी राख्ने आन्दोलनकारीहरूले उद्घोष गरेका छन् । प्रादेशिक राजधानी विराटगरमा धर्ना दिँदै लिम्बुवान किरात संयुक्त संघर्ष समितिका नेताहरूले आन्दोलनलाई निष्कर्षमा नपु¥याएसम्म विश्राम नलिने समेत बताएका छन् ।

डा. ओम गुरुङ ।

मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासङ्घका पूर्वमहासचिव डा.ओम गुरूङले पूर्वको लिम्बुवान, किरातको आन्दोलनले दोस्रो जनान्दोलनको झल्को दिएको भन्दै तमुवानदेखि खसानसम्मको साथ रहेको बताए । उनले आदिवासी राई र लिम्बु समुदायको संयुक्त आन्दोलनले मात्रै पहिचान सुरक्षित हुने भन्दै यायोक्खाका नेतृत्वलाई चुम्लुङसँग समन्वय गरेर आन्दोलन गर्न सुझाव दिए । ‘लिम्बुवान, किरात प्रदेश भए भोलि बेग्लै किरात प्रदेश र लिम्बुवान प्रदेश बनाउन सकिनेछ । लिम्बुवान प्रदेश र किरात प्रदेशमा रहेका समग्र आदिवासी जनजाति र गैरजनजाति समुदायलाई समेत यो आन्दोलनमा सहभागी हुन हार्दिक आह्वान गर्दछु ।’

Advertisement

जसपा नेता एवम् प्रदेश सांसद आरसी तुम्बा ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश एकका सांसद रामचन्द्र(आरसी) तुम्बाले नामाङ्कनका लागि दुई तिहाई बहुमत पु¥याउन कठिन भएपनि लिम्बुवान, किरातका लागि प्रस्तावक र समर्थक भए छुट्टै प्रस्ताव दर्ता गर्ने समेत प्रतिबद्धता व्यक्त गरे । ‘लिम्बुवान, किरात प्रदेशका लागि तपाईहरू सडकबाट संघर्ष गर्नुहोस्, म सदनबाट संघर्ष गर्नेछु । प्रदेश एकको भूगोलमा पहिचानमा आधारित धेरै प्रदेशहरू छन् । तर, अरूणपूर्व लिम्बुवानका शतप्रतिशत र किरातका ९५ प्रतिशत भूगोल यहीँ भएका कारण लिम्बुवान, किरात प्रदेश हुनुपर्छ भनेका हौँ,’ सांसद तुम्बाले भने, ‘हामी यहाँको मधेशी, थारू, शेर्पाका भावनाहरूलाई पनि स्वायत्तताको सिद्धान्तमार्फत समेट्न तयार र्छौँ । सात प्रदेश नभएर हाम्रो बटमलाइन भनेको दश जोड एक प्रदेश हो । संघीय संविधान संशोधन गरेर हामी सबैको पहिचान सुनिश्चित गर्नेछौँ ।’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञान बहादुर गुरूङले लिम्बुवान, किरात प्रदेश सुनिश्चित नभए अझ सशक्त आन्दोलन गर्ने बताए । अर्का वक्ता राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष विदु कायस्थ अब आउने प्रदेश र संघीय चुनावमा पहिचानवादीहरूले बलियो मत ल्याउने दाबी गर्दै पहिचानका आधारमा नामकरण नभए अशान्ति हुने चेतवानी दिए । उनले सात प्रदेशमध्ये पूर्वमा लिम्बुवान र किरात प्रदेश घोषणा गर्नेबित्तिकै अन्य पाँच प्रदेशमा समेत त्यसको सकारात्मक असर पुग्ने बताए ।

जनजाति महासङ्घका पूर्व कार्यवाहक महासचिव थामी ।

यसैगरी, नेपाल आदिवासी जनजाति महासंघका पूर्व कार्यवाहक महासचिव एवम् थामी समाजका अध्यक्ष सुकवीर थामीले नेपालको पहिचानको आन्दोलनमा सुदूरपश्चिममा थारू समुदाय र सुदूरपूर्वमा लिम्बु समुदायको उल्लेख्य योगदान रहेको बताए । उनले महासङ्घका नेतृत्वहरू प्रदेश एकको नाममा अस्पष्ट रहेको भन्दै आदिवासी जनजातिहरूको राष्ट्रिय राजनीतिक सम्मेलनले दश जोड एक प्रदेश र प्रदेश एकलाई लिम्बुवान, किरात प्रदेश बनाउने घोषणापत्रमा उल्लेख गरेको स्मरण गराए ।

सभाका एक वक्ता मातृका धिमाल ।

त्यस्तै, जसपा लिम्बुवान राष्ट्रिय समिति सचिवालय सदस्य मातृका धिमालले १८३१ मा लिम्बुवान रक्षाका लागि काङ्सोरेस्रँगै लडेका बाङ्गाई धिमालसँगै सात दिन सात रात लडेको भन्दै लिम्बुवानप्राप्तिका लागि तीसौँ दिन लड्न तयार रहेको उदघोष गरे । उनले पहिचानलाई विकृत पार्न र फुटाउन राज्यसत्ताले षड्यन्त्र गरिरहेको बताए । उनले प्रदेश एकका सांसदले लिम्बुवान, किरात प्रदेश पारित नगरे सांसदसँगै परिवारले समेत गुहार माग्नुपर्ने अवस्था आउने उनले बताए ।
सभामा कवि साङ्सेन वरक पङ्धाकले आफ्नो सिर्जना समेत सुनाएका थिए । यस्तै, गायक यादन शेर्माले गीत प्रस्तुत गरेका थिए । सो अवसरमा लेखक एवम् विश्लेषक खगेन्द्र सङ्ग्रौलाको आन्दोलनप्रतिको ऐक्यबद्धतासहितको सन्देश समेत पाठ गरिएको थियो । सभालाई विद्यार्थी नेताद्वय सागर सरगम चेम्जोङ र प्रदीप नेयोङले सञ्चालन गरेका थिए । संघर्ष समितिले यसअघि साउन ५ गते र साउन १० गते बृहत् शक्ति प्रदर्शन र धर्ना कार्यक्रम राखिसकेको छ ।

धर्नामा सहभागी आन्दोलनकर्मीहरू ।