May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
1:37:26 pm

तलब काटी-काटी बनाएको ‘झोला’

2.7K

एसएलसी दिएको ६ वर्षपछि अलियन श्रेष्ठले जागिर सुरू गरे। बिबिएस गरेका उनले थुप्रै कम्पनीमा काम गर्ने अवसर पाए। सुरूआती दिनदेखि हरेक कामबाट नयाँ सीप र अनुभव बटुले।

घरपरिवार चलाउन पुग्ने पैसा आउने भरपर्दो जागिर हुनु सामान्य व्यक्तिलाई राम्रै उपलब्धि लाग्छ। अलियनको उपलब्धि यहीभित्र पर्थ्यो, तर उनले आफ्नो जीवनमा कमी महसुस गरिरहे।

उनी ९-५ मा चल्नुपर्ने समयबाट मुक्त हुनु चाहन्थे। सधैं अरूका लागि काम गरिरहँदा आफ्ना लागि समय दिन पाइरहेका थिएनन्।

Advertisement

‘रातदिन, जाडो, गर्मी केही नभनी अर्काको काम गर्दा मनमा प्रश्न उठ्थ्यो, यति मिहेनत गरेर मैले चाहिँ के पाएँ त? परिवारलाई समय नदिई जिन्दगीमा के कमाइरहेको छु?,’ अलियनले आफ्नो अनुभव सुनाए, ‘मेरो जिन्दगी अर्थहीन बन्दै थियो। अफिसमा खर्चिने समय आफ्ना लागि दिएँ भने चिन्ता कम हुन्छ कि भन्ने लाग्न थाल्यो।’ आफ्नै काम त गर्ने, तर के गर्ने? उनीसँग आइडिया थिएन। केही टुंगो नभई छँदाखाँदा जागिर छाड्न पनि भएन। अफिस सकिएपछि उनी एक्लै बसेर यसैबारे सोचिरहन्थे।

सोच्दासोच्दै उनी एकदिन बाल्यकालका दिनतिर पुगे, उनलाई सानो छँदा झोला बोक्ने ठूलो रहर थियो रे। 

‘मलाई सधैं झोला बोकेर हिँड्ने रहर थियो। स्कुल जाँदा झोला नभएर हातमा किताब बोक्नु पर्थ्यो,’ २०५७ सालमा एसएलसी दिएका उनले भने, ‘त्यो बेला टन्न घरजग्गा भए पनि पैसा हुन्थेन। त्यसैले स्कुलमा कहिल्यै झोला बोक्न पाइनँ। झोला बोक्नेको ठूलो शान हुन्थ्यो। अरूको देख्दा मेरो पनि भइदिए हुने भन्ने आश लाग्थ्यो।’ 

अलियनको झोला बोक्ने इच्छा र अहिलेको बढ्दै गएको झोलाको चल्ती मिल्दोजुल्दो थियो। उनले यसैमा तालमेल खोजे- बाल्यकालको रहर पूरा हुने, जागिरे जीवनबाट मुक्त भएर व्यवसाय पनि गर्न सकिने!

उनको रूचि झोला उत्पादनतिर मोडियो।

‘झोला सबैलाई चाहिन्छ। यो एउटा समयमा बिक्ने र अर्को समयमा नबिक्ने भन्ने हुँदैन। त्यसैले यो काम राम्रो चल्ने विश्वास थियो,’ उनले भने।

उनको यही विश्वासले जन्माएको ब्रान्ड हो ‘झोला’।

एक वर्षको अध्ययनपछि दुई महिनाअघि ‘झोला’ आधिकारिक रूपमा दर्ता भएको हो। यसले तरकारी र अन्य सामान बोक्न मिल्ने, टोट ब्याग र कलेज ब्याग उत्पादन गरिरहेको छ। यिनको मूल्य ५ सयदेखि १ हजार ५ सयसम्म पर्छ। यी उत्पादन दराज अनलाइनबाट वा झोलाको फेसबुक पेजबाट अर्डर गर्न सकिन्छ।

यसबाहेक ग्राहकको भनेअनुसारका डिजाइन पनि बनाइरहेको अलियन बताउँछन्।

अलियनले झोला उत्पादन गर्न एक वर्ष लगातार खोज-अनुसन्धान गरेका थिए। डिजाइन र उत्पादनको अनुसन्धानबारे सबै काम एक्लै भ्याए। त्यो समय कठिन थियो, तर मनले चाहेको काम गर्न पाउँदा खुसी थिए।

अफिस सकिएपछि उनी ‘झोला’को काम गर्थे। तलब झोला बनाउनै खर्चिन्थे।

‘घरमा रासन-पानीका लागि पसलमा महिनौं उधारो राखेँ। छोराको स्कुल शुल्कबाट पैसा कटाउँदै झोला उत्पादनमा लगाएँ,’ उनले भने।

त्यो बेला उनलाई साथीभाइको सहयोग र समर्थनको खाँचो थियो, पाएनन्। उनका अनुसार सुरूमा झोलाका केही डिजाइन साथीलाई पठाउँदा धेरैले वास्ता गरेनन्। आइडिया बताउँदा प्रायःले लगानीबारे मात्र कुरा गरे। डिजाइन वा उत्पादनको प्रक्रियामा ध्यान दिएनन्।

३४ वर्षीय अलियन र उनीसँगैका साथीका लागि यो उमेरमा पैसा कमाएर घर चलाउने मात्र सोच हुनु स्वभाविक थियो। 

‘तर मलाई पैसाको चिन्ता थिएन। मेरो उत्पादन ग्राहकले मन पराउँदै जानुभयो भने पैसाको समस्या हुने छैन भन्ने विश्वास थियो। त्यसैले एक वर्ष केही चिन्ता नगरी काममा समर्पित भएँ,’ उनी भन्छन्, ‘अब पछि हट्ने वाला छैन।’

अलियनले लगानी भनेर पैसा छुट्टाएका थिएनन्। जेजसो भयो, खर्चिँदै गए। एक वर्षअघिको सरसर्ती हिसाब हेर्दा तीन-चार लाख रूपैयाँ खर्च भएको बताउँछन्। सुरूका कठिन समय उनले एक्लै पार गरे भने अबका दुःख सजिलै झेल्ने आत्मविश्वास उनमा छ। 

तरकारी बोक्ने झोला बनाएर सुरू गरेको यो व्यवसायमा अलियन निकै रमाएका छन्। अहिले उनको उत्पादन टिममा तीन जना भइसके। ब्रान्डमा काम गर्न अर्का साथीको सहयोग पनि छ।

अलियन आफ्नो उत्पादनको गुणस्तर र वातावरणबारे पनि सचेत रहेको बताउँछन्।

‘मलाई प्लास्टिकको झोला बनाउनु थिएन। त्यसैले बजारमा पाइने राम्रा कपडा खोजेँ,’ उनी भन्छन्, ‘ग्राहकमाझ नेपाली उत्पादन महँगो हुन्छ भन्ने सोच गलत सावित पनि गर्नु थियो मलाई। धेरै उत्पादनपछि सस्तो बनाउने सोचेको थिएँ। तर यहाँ कपडा बनाउने सामग्री पाउनै गाह्रो रहेछ।’ 

उनले थपे, ‘एउटा राम्रो कपडाको दस हजार पर्छ। त्यही कपडा अर्कोपटक किन्न पर्दा हत्तपत्त पाइँदैन। यसले धेरै परिमाणमा उत्पादन गर्न समस्या हुन्छ र सामान महँगो पर्छ।’

व्यवसाय भर्खरै जन्मिएको भए पनि भविष्यको सोच अलियनले हुर्काइसकेका छन्। उनका अनुसार बजार बढ्दै गएपछि हरेक झोलाको कमाइबाट ५ प्रतिशत जम्मा गर्नेछन्। त्यही पैसाले अरू झोला बनाएर दुर्गम क्षेत्रका विद्यार्थीलाई दिनेछन्।

व्यावसायिक कदम सानो र डेगले चाल्नुपर्नेमा विश्वास राख्ने उनी भन्छन्, ‘काम गर्न सजिलो हुँदैन। तर पछि हट्नु हुँदैन। हामी पनि कामकै चरणमै छौं, परिणाम के आउँछ थाहा छैन। अहिले धेरै युवामाझ आफ्नै व्यवसाय गर्ने चलन छ, आइडिया पनि राम्रो छ। राम्रो व्यवसायको सोच आए थालिहाल्नु पर्छ। डराउनु हुँदैन।’ Source: Setopati