May 5, 2024, Sunday
२०८१ बैशाख २३
1:37:26 pm

सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमति

२०७७ फाल्गुन २१

5.9K

काठमाडाैं- सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच बिहीबार भएको तीन बुँदे सहमति सार्वजनिक गरिएको छ।  शुक्रबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा सहमति सार्वजनिक गरिएको हो। 

सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले सहमति पढेर सुनाएका थिए। सहमतिमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गरेका छन्।

सहमतिमा नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएको उल्लेख छ। 

Advertisement

यी हुन् सहमति पत्रका बुँदा

नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टीबीच निम्न लिखित सहमति भएको छ। 
१. नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं। 
२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।
३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सहमतिलाई सार्वजनिक भएपछि लागू हुनेगरी अनुमोदन गरेको थियो। फागुन १८ गते सरकार र ‘विप्लव’ पक्षले वार्ता टोली घोषणा गरेका थिए।

सरकारका पक्षबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा थिए। त्यस्तै, विप्लव पक्षबाट सो पार्टीका प्रवक्ता तथा सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ वार्ता टोलीमा थिए।

दुवै टोलीबीच १९ गते दुई चरणमा र २० गते वार्ता भएको थियो। २० गते बिहानको वार्तामा तीन बुँदे सहमति भएको थियो।