May 18, 2024, Saturday
२०८१ जेष्ठ ६
1:37:26 pm

बाँडेरै सकियो भरतपुर अस्पतालको जग्गा

1.7K

चितवन– नेपालमा एकैदिन ३९६ पालिकामा अस्पताल र सात प्रदेशमा सरुवा रोग अस्पतालको शिलान्यास भयो । त्यही क्रममा भरतपुर अस्पताल परिसरमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सरुवा रोग अस्पतालको शिलान्यास गरे ।

बोलपत्र आह्वानसमेत नगरी अस्पताल शिलान्यास गरियो तर नशाङ्कनअनुसार जग्गा भने अपुग भयो । भरतपुर अस्पतालको जग्गा थोरै भने होइन । अस्पतालको नाममा ३० बिघा ११ कट्ठा छ धुर जमीन रहेको छ । बाँड्दाबाँड्दै जग्गा अभाव भएको हो । अस्पतालको जग्गा कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले छ बिघा, भरतपुर आँखा अस्पतालले छ बिघा १७ कट्ठा १० धुर, साझा औषधि पसलले एक कट्ठा १० धुर, रक्तसञ्चार केन्द्रले दुई कट्ठा १० धुर प्रयोग गरिरहेका छन् ।

स्वास्थ्य कार्यालयले १० कट्ठा १० धुर प्रयोग गर्दै आएको अस्पतालले जनाएको छ । अस्पतालले करिब १० बिघा मात्रै जमीन उपयोग गर्न पाएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीले बताए । उनले भने, “अब संरचना बनाउन हामीलाई जग्गा छैन ।” स्वास्थ्यमन्त्री ढकालले शिलान्यास गरेको भवन बोलपत्र प्रक्रियामा छ । अस्पतालको आफ्नो जग्गामा भवन नअट्ने उनले जानकारी दिए ।

Advertisement

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले सिटिइभिटीको पुरानो संरचना रहेका क्षेत्रमा जग्गा लिएर सो भवन बनाउन गृहकार्य थालिएको जानकारी दिए । उनले भने, “बाँड्दाबाँड्दै जग्गा अभाव भयो ।” अस्पतालको गुरुयोजनाअनुसार संरचना निर्माणका लागि अन्य सङ्घसंस्थालाई दिएको तर खाली भएका जग्गा लिनुको विकल्प नभएको उहाँको भनाइ छ ।

शैक्षिक प्रतिष्ठानका रुपमा अस्पताललाई विकास गरिँदैछ ।