May 19, 2024, Sunday
२०८१ जेष्ठ ७
1:37:26 pm

नेपाली श्रमिक इजरायल पठाउन यस्तो छ प्रारम्भिक कार्यविधि

4.6K

काठमाडौँ – श्रम मन्त्रालयले सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुनेगरी कार्यविधि तयार गरेको जनाएको छ । श्रम मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाएको दाबी गरेको छ ।

कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर नेपालका लागि इजरायली राजदूतले गर्ने विषयको टुङ्गो लागिसकेको छ । नेपालका तर्फबाट टुङ्गो लाग्नेबित्तिकै कार्यान्वयन प्रोटोकलमा हस्ताक्षर हुने श्रम मन्त्रालयले जनाएको छ ।

सम्झौताअनुसार नेपाली श्रमिकले इजरायलको केयरगिभर क्षेत्र, कृषि क्षेत्र, होटल रेस्टुरेन्ट, निर्माणलगायतका क्षेत्रमा रोजगारीको अवसर पाउने छन् तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्नका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुला हुनेछ । यसअन्तर्गत पहिलो चरणमा केयरगिभरको क्षेत्रमा पाँच सय नेपाली श्रमिक इजरायलले लैजाने छ । नेपाली श्रमिकलाई इजरायल पठाउने काम वैदेशिक रोजगार विभागले गर्नेछ ।

Advertisement

कार्यविधि बनाउने कार्यमा सदस्यका रूपमा रहनुभएका वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कार्यान्वयन प्रोटोकलमा पुसको पहिलो साताभित्र हस्ताक्षर हुने बताउनुभयो । उहाँले कार्यान्वयन प्रोटोकलमा दुई देशबीच हस्ताक्षर सम्पन्न भएको एक÷दुई साताबाट श्रमिक छनोट सुरु हुने र डेढ दुई महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो प्रक्रियाबाट इजरायल गएकाले आ–आफ्नो क्षेत्रमा के कस्तो इमानदारिता देखाउन सक्छन्, त्यही आधारमा पछि थपिने
सङ्ख्याको टुङ्गो लाग्नेछ । ”

त्यसो त यसअघि पनि नेपाली केयरगिभरका रूपमा इजरायल गएका छन् । कतिपय नेपाली अहिलेसम्म त्यहाँ कार्यरत छन् । त्यस्तै साना किसान बैङ्कको संयोजनमा कृषि क्षेत्रमा काम गर्नका लागि हरेक वर्ष १० महिने ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत तीन हजार १६२ जना नेपाली इजरायल गइसकेका छन् ।

नयाँ श्रम सम्झौता विगतभन्दा व्यवस्थित हुने

नयाँ श्रम सम्झौतापछि विगतभन्दा व्यवस्थित प्रणालीबाट इजरायल रोजगारीमा श्रमिक पठाउन सकिने विभागका महानिर्देशक दाहालको भनाइ छ । नयाँ श्रम सम्झौताअनुसार एसएलसी वा एसईई उत्तीर्ण गरेर १५ महिने स्वास्थ्य सेवासम्बन्धी तालिम वा १२ कक्षा उत्तीर्ण भई तीन महिने कियरगिभरसम्बन्धी तालिम लिएका, अङ्ग्रेजी बोल्न सक्नेले इजरायल रोजगारीमा जानका लागि आवेदन दिनसक्ने छन् ।

श्रम सम्झौतामा विभिन्न चरणमा दुई सय अमेरिकी डलर तलब हुने बताइएको छ ।इजरायलमा ६० हजार विदेशी केयरगिभर छन् । यसअघि सन् २०१७ मा एक संस्थाले सार्वजनिक गरेको जानकारीअनुसार इजरायलमा झन्डै १५ प्रतिशत केयरगिभर नेपालका रहेका छन् । इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा एक सम्झौता (एमओयू)मा हस्तााक्षर भएको थियो । कमाइ र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारी स्तरमा श्रम सम्झौता (जीटुजी) भएको पाँच वर्ष नपुग्दै बन्द भएको थियो ।गाेर्खापत्र