May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
1:37:26 pm

बैतडीमा लामो समयपछि वर्षा, किसान हर्षित

2.7K

काठमाडौँ – लगातारको खडेरीले बालीनाली सुक्दै गएको बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् ।

लामो समयको अन्तरालपछि पानी पर्दा बालीनाली सप्रिने भन्दै किसान खुशी भएका हुन् । मौसममा आएको परिवर्तनसँगै आइतबार दिउँसोदेखि पानी परिरहेको छ ।

लगातारको खडेरीले बालीनाली सुक्दै गएको बेला भएको हिउँदे वर्षाले केही राहत भएको दशरथचन्द नगरपालिका–१ का अगुवा किसान कृष्णदत्त भट्टले बताए ।

Advertisement

‘यो वर्षा हिउँदेबाली र हिउँदे फलफूलका बिरुवाका लागि निकै लाभदायक भएको छ’, उनले भने, ‘यो वर्ष लामो समयपछि पानी परेको छ । यो पानीले केही राहत भएको छ ।’

वर्षाले गहुँलगायतका हिउँदेबालीका लागि निकै फाइदा पुर्याएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । ‘खडेरीपछि परेको पानीले केही मात्रामा भए पनि बालीनालीका लागि राम्रो भएको छ’, उनले भने, ‘यो वर्षापछि बेँसी र टार क्षेत्रमा गहुँसमेत छर्न सकिनेछ, गहुँबाली छर्न बाँकी रहेका क्षेत्रमा यो वर्षाले गहुँबाली छर्नका लागिसमेत सहयोग पुग्छ ।’

बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । आठ हजार हेक्टर क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा छ । सिँचाइ सुविधा नभएका अधिकांश ठाउँका किसानले यो वर्ष गहुँबाली छरेका छैनन् । यो वर्षापछि केही ठाउँमा गहुँ छर्ने तयारीसमेत भएको छ ।

यसैबीच हिउँदे वर्षाले चिसोसमेत बढाएको छ । चिसो बढेसँगै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । चिसोबाट बच्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । चिसोको समयमा विभिन्न खालका स्वास्थ्य समस्या आउन सक्ने भएकाले चिसोबाट बच्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।