May 19, 2024, Sunday
२०८१ जेष्ठ ७
1:37:26 pm

वैदेशिक रोजगारीमा आकर्षक गन्तव्यको खोजी

2.2K

काठमाडौं– ५ वर्षभित्रमा बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गर्ने लक्ष्य लिएको सरकारले काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुकहरुको खोजी सुरु गरेको छ। 

उच्च आयआर्जन गर्न सकिने मुलुकहरुसँग श्रम सम्झौता गरेर नेपाली श्रमिकहरु पठाउन सरकारले पहल सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।  सरकारले युरोपका उच्च आय हुने मुलुकहरु पोल्याण्ड,रोमानिया तथा सेसेल्ससँग श्रम सम्झौताको तयारी गरेको हो।

खास गरी युरोपका औद्योगिक क्षेत्र, पानीजहाज, व्यापार, कृषि, मत्स्यपालन, पर्यटन, होटल, रेस्टुराँ, घरायसीलगायत विभिन्न क्षेत्रमा कामदारको माग बढी देखिन्छ। यी क्षेत्रहरुमा विशेष गरी सीपयुक्त जनशक्तिको माग छ। सीपयुक्त कामदारलाई सोहीअनुसारको आकर्षक पारिश्रमिक तथा सेवासुविधासमेत व्यवस्था हुन्छ। तर नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाहरु अधिकांश अदक्ष छन्। वैदेशिक रोजगार विभागको तथ्यांक हेर्दा आर्थिक वर्ष २०७५/०७६ मा ५ लाख ८ हजार ८ सय २७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकोमा २ लाख ८५ हजार ४ सय ४५ श्रमिकहरु अदक्ष छन्।

Advertisement

सीपयुक्त १ लााख ७९ हजार ६ सय १ जना छन् भने ४२ हजार ७ सय ८४ अर्धदक्ष श्रमिकहरु वैदेशिक रोजगारीमा गएका छन्। वैदेशिक रोजगारीमा जाने उच्च दक्ष श्रमिकको संख्या २ सय १० मात्रै छ। सोही वर्ष व्यवसायिक कामका लागि ७ सय ८७ युवाहरु विदेशीएका छन्।