May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
1:37:26 pm

काठमाडौँका सडकमा आधुनिक बत्ती जडान हुँदै

5.7K

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करिब एक हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको कामपाले जनाएको छ ।

महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने छ । औपचारिकरूपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा कामपाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।

Advertisement

गत मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढेको जनाइएको छ। महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो सङ्घीय राजधानीको चिनारी दिन ‘मेयर उज्यालो अभियान’अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो ।