May 4, 2024, Saturday
२०८१ बैशाख २२
1:37:26 pm

सगरमाथामा भारतको दाबी प्रस्तुत गर्ने जी न्युजको प्रस्टीकरण 

1.9K

काठमाडौँ – माउन्ट एभरेस्टको नाम परिवर्तन गर्ने मात्र होइन, सर्वोच्च शिखरमा भारतले दाबी ठोक्नुपर्छ’ भन्ने भारतीय च्यानल जी न्युजले प्रस्टीकरण दिएको छ । लिम्पियाधुरासहितका विषयमा नेपाली राष्ट्रियतामाथि भद्दा आक्रमण गर्दैै आएको टोली प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता लिन नेपाल आएको थियो । प्रधानमन्त्रीको अन्तर्वार्ता लिएपछि टोलीले सगरमाथा पुगेर सगरमाथामाथि नै भारतीय दाबी प्रस्तुत गरेपछि नेपाली समुदायले निन्दा गरेको थियो । 

‘माउन्ट एभरेस्टको लोेकेसनलाई कसैले बदल्न सक्दैन, माउन्ट एभरेस्ट नेपालमै छ  र यसलाई कसैले इन्कार गर्न सक्दैन । नेपालका आफ्ना दर्शकलाई आहत बनाउने हाम्रो कुनै उद्देश्य छैन,’ बुधबार साँझ प्रसारित कार्यक्रममा भनिएको छ । यही कार्यक्रममा अघिल्लो दिन सुधीर चौधरी आफ्ना दर्शकलाई भन्दै थिए, ‘तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

यता, जी न्युजको टोलीले सगरमाथा क्षेत्रमा हेलिकोप्टर चार्टर गरेर विनाअनुमति भिडियो खिचेर प्रसारण गरेको पुष्टि भएको छ । सगरमाथा क्षेत्रमा सामान्य मोबाइल तथा क्यामेराले भिडियो र फोटो खिच्न र व्यक्तिगत प्रयोजनमा लिन पाउने व्यवस्था छ । तर, भिडियो तथा फोटो ‘कमर्सियल च्यानल’बाट प्रसारण गर्न भने कानुनी रूपमा अनुमति लिनुपर्छ । 

Advertisement

राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागको नियमअनुसार नेपालीले समेत भिडियो छायांकन गर्न सशुल्क अनुमति लिनुपर्छ । यो प्रयोजनका लागि नेपालीले १० हजार र सार्क मुलुकका नागरिकले ५० हजार रुपैयाँ शुल्क बुझाएर पूर्वअनुमति लिनुपर्ने व्यवस्था छ । अझ, तेस्रो मुलुकका नागरिकले १५ हजार अमेरिकन डलर तिर्नुपर्ने व्यवस्था रहेको छ । 

‘तर, भारतीय टिभी च्यानलले कुनै पनि स्थानबाट अनुमति लिएको पाइएको छैन,’ राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले भने, ‘टिभीमै प्रसारण भएको भिडियो खिच्न डकुमेन्ट्री बनाउने अनुमति लिनुपर्छ, यसका लागि सार्क मुलुकका नागरिकले ५० हजार रुपैयाँ तिनुपर्ने हो, तर जी न्युजले तिरेको देखिएन ।’ जी न्युजको टोलीले मंगलबार सिम्रिक हेलिकोप्टर चार्टर गरेर भिडियो बनाएर जी न्युजमार्फत आपत्तिजनक रिपोर्ट प्रसारण गरेको थियो ।आजको नयाँ पत्रिकामा याे खबर प्रकाशित छ ।