May 2, 2024, Thursday
२०८१ बैशाख २०
1:37:26 pm

निर्वाचन आयोगको कार्यक्रममै ‘केपी ओली मुर्दावाद’को नारा

3.4K

विराटनगर:  निर्वाचन आयोग मोरङले निर्वाचन कार्यक्रमबारे दलहरुलाई जानकारी गराएको छ । उक्त कार्यक्रमको विषयमा भने नेकपा (प्रचण्ड–माधव)समूहले बहिष्कार र कार्यक्रममै नाराबाजी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङमा जिल्ला निर्वाचन आयोगको कार्यालय मोरङद्वारा आयोजित मतदाता नामावली अद्यावधिक कार्यक्रममा सो समूहको तर्फबाट नेता पारुल क्षेत्रीले विरोधस्वरुप ‘प्रतिगम मुर्दावाद, केपी ओली मुर्दावाद’ को नारा लागेको हो ।

कार्यक्रममा नाराबाजी निरन्तर गरेपछि कार्यक्रममा उपस्थित मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले क्षेत्रीलाई रोक्नु परेको थियो । ‘तपाईको कुरा हामीले सुन्यौं, हामी संविधान बमोजिम अगाडि बढ्छौं, तपाई बस्नुहोस्,’ निरौलाले क्षेत्रीलाई आग्रह गर्दै भन्नुभएको थियो । त्यसलगत्तै क्षेत्रीले कार्यक्रम बहिष्कार गरेर हिंड्नु भएको थियो ।

Advertisement

कार्यक्रम बाहिरिनु भएका क्षेत्रीले संचारकर्मीलाई प्रतिक्रिया दिँदै अदालतमा मुद्दा चलिरहेको र सम्पूर्ण राजनितिक दलहरु संसद पुर्नस्थापनाको पक्षमा भएको अवस्थामा निर्वाचनको तयारी थाल्नु अनुचित रहेको बताउनुभयो ।

उहाँले राजनितिक दल र जनताको सहभागिता बिनाको चुनाव कस्तो चुनाव हुन्छ ? भनी प्रश्न समेत गर्नुभयो । उहाँले राजनीतिक दलसँगको कुनै समन्वय र छलफल बिना निर्वाचनको तयारी थाल्नु संविधान विरोधी हर्कत भएको जिकिर गर्नुभयो । ५ वर्ष नपुगी निर्वाचन हुँदैन, उहाँले भन्नुभयो, ‘तर तपाईहरु मजाक जस्तो बसाँईसराई गराईरहनुभएको छ, निर्वाचनको तयारी गरिरहनुभएको छ, मतदान केन्द्र निर्धारण गरिरहनुभएको छ ।’ उहाँले प्रधानमन्त्री ओलीको निर्देशनमा प्रहरी, प्रशासन र सिडियोद्वरा बलजफ्ती यस्ता कार्यक्रमहरु सञ्चालन गरिए जनताले प्रतिवाद गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरु हामीलाई थुन्नुहोस, कुटनुहोस, लाठी चार्ज गर्नुहोस तर हामी निर्वाचन हुुन दिनेछैनौं ।’

निर्वाचन आयोगको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निरौला, सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, नेपाली सेना सूर्यदल गण थलाहका गणपति महेश बाटा, नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरे, राप्रपा मोरङका सचिव प्रदिप सुवेदी, जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, जनता समाजवादी पार्टी नेपाल, नेकपा (ओलीसमूह)का प्रतिनिधिहरुको सहभागीता थियो ।

कार्यक्रममा निर्वाचन आयोगले सहभागी दलहरुलाई १७ बुँदे मतदाता नामावली दाबी तथा विरोध कार्यक्रम, २०७७ सार्वजनिक गर्दै निर्वाचनको तयारी तीव्र बनाएको जनाएको छ । निर्वाचनलाई लक्षित गर्दै कार्यालयले मोरङका १७ वटै स्थानीय तहमा सहायक नाम दर्ता अधिकारी पनि तोकिसकेको छ । सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणको मद्यावधि चुनावको घोषणा गरेको छ ।

निर्वाचन सम्बन्धी सरकारको घोषणा बमोजिम विराटनगरस्थित जिल्ला निर्वाचन कार्यालयले माघ १५ मा कार्यक्रमको सुचना तथा मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम तय गरेको छ । यस्तै माघ १६ देखि १७ सम्म नामावलीमा रहेका त्रुटि सच्याउन सहायक नाम दर्ता अधिकारीको कार्यालयमा निवेदन दिने, माघ १६ देखि १७ झुठो विवरण विरुद्ध उजुरी दिने तथा प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, माघ १८ देखि १९ उजुरी परेको मतदातालाई प्रमाणसहित सफाईको मौका प्रदान गर्ने निर्वाचन कार्यालयको तयारी छ ।

यसैगरी माघ १८ देखि २० गतेसम्म मतदाता नामावलीमा भएको त्रुटि सच्याउन प्राप्त निवेदन उपर जाँचबुझ गरि प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्न विवरण तयार पार्ने, माघ २० गते उजुरी परेको मतदाताले दिएको सफाईको आधारमा मतदाता नामावलीमा मतदाताको नाम राख्ने वा हटाउने सम्बन्धमा प्रमुख नाम दर्ता अधिकारी समक्ष सिफारिश गर्ने र माघ २१ गते मतदाता नामावलीबाट हटाईएको वा हटाउन सिफारिश गरिएको सूचना आफ्नो कार्यालयमा प्रकाशन गर्ने कार्यक्रम तय गरिएको मोरङका जिल्ला निर्वाचन अधिकारी महेश कुमार ठाकुरले बताउनुभयो । उहाँले माघ २२ देखि २६ गतेसम्म नामावलीमा भएको त्रुटी सच्याउने वा मतदाताको नाम हटाउने सम्बन्धमा सहायक नाम दर्ता अधिकारबाट प्राप्त सिफारिश बमोजिम निणर्य गर्ने बिषयमा सहमति जुटेको जानकारी दिनुभयो ।

यस्तै कार्यालयले भने माघ २६ गते प्रमुख नाम दर्ता अधिकारीबाट भएको निणर्य बमोजिम नाम हटाईएका वा त्रुटी सच्याईएका मतदाताको विवरण प्रकाशन गर्ने निर्णय गरेको छ । साथै फरक फरक जिल्लामा दोहोरो नाम परेका मतदाताको सम्बन्धमा निवेदन प्राप्त भए सोको छुट्टै विवरण तयार पारी जिल्लामा अद्यावधिक भएको डाटासँगै आयोगमा पठाउने निर्णयसमेत गरिएको कार्यालयले जनाएको छ ।