May 3, 2024, Friday
२०८१ बैशाख २१
1:37:26 pm

सरकारमा ओलीको म्याद तोके प्रचण्डले, ‘एक महिनाभित्र बादशाहलाई घोडाबाट खसाउँछौं

1.4K

विराटनगर:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक महिना भित्रै प्रधानमन्त्री केपी ओलीको शासन अन्त्य हुने दाबी गरेका छन् ।

शुक्रवार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले धेरै समय आन्दोलन गर्नु नपर्ने बताए । केपी ओलीको शक्ति कति छ भन्ने आफूलाई थाहा भएको उनको भनाई थियो । ‘केपी ओलीको हुति कति छ? मैले देखेर आएको छु। संसदीय दलले मलाई नेता चुन्यो। केपी ओलीले संसद विघटन गर्दैमा हुदैन भने मैले। केपी ओलीले विघटन गरेर हुदैन। ओलीले सरकार विघटन गरेको हो। केपीजी इतिहासमा कलंकको टीका लगाउनुभो मैले त्यतिबेला भनेको थिएँ,’ उनले भने।

ओलीले आफूलाई परिवारवादमा लागेको आरोप लगाएको भन्दै प्रचण्डले ओलीजस्तो आफू छोराछोरी बिहीन नभएको बताए। ‘तपाइका त छोराछोरी छैनन् मेरा छन्। छोराछोरी हुनु मेरो दोष हो? युद्धका बेला मेरा छोरीहरु रोल्पामा बन्दुक बोकेर हिड्नु मेरो दोष हो?,’ ओलीलाई प्रश्न गर्दै प्रचण्डले भने । ओलीलाई इतिहासले कलंकको रुपमा सम्झने प्रचण्डले बताए।

Advertisement

ओलीलाई आवश्यक परे संविधानमा भएको ब्यवस्था प्रयोग गरेर कारवाही गर्ने प्रचण्डको चेतावनी छ । ‘अदालतप्रति भरोसा गरेर बसेका छौं। जरुरी परेमा सभामुखले बैठको आयोजना गर्ने र केपीलाई कारवाही गर्छौ। तर अदालतको भर छ। तपाइले ५ वर्षका लागि चुनाव जिताएर पठाएका हामी जिउँदै छौ। कसैले नक्कली ढंगले मारेर हुँदैन,’ उनले भने।

आफूले राम्रो पार्टी बनाउन चाहेको भएपनि ओली प्रतिक्रियावादी एजेण्ट भएर हुर्मत लिन थालेपछि पुरा नभएको उनको भनाई छ। उनले एक महिनाभित्रै ओलीलाई पदबाट हटाउने उदघोष गरेका छन् । ‘धेरै महिना लड्नु पर्दैन। एक महिना भित्र बादशाहलाई घोडाबाट खसाउनेछन् लोकतन्त्र फेरि ट्रयाकमा जानेछ,’ उनले भने।

हजारौ शहीदको रगतको बलिदानले संविधान बनाएको भए पनि ओलीको भष्मासुर प्रवृतिले विघटन गर्न खोजिएको प्रचण्डको आरोप छ । नेपालमा बनेका सबै संविधानभन्दा २०७२ को उत्कृष्ट भएको उनको दाबी थियो । ‘अहिलेसम्म नेपालमा धेरै संविधान बने। २००७ र त्यसपछि पनि थुप्रै संविधान बने तर २०७२ को संविधान ति भन्दा फरक थियो। सर्वभौम अधिकार पहिलाको संविधानमा राजा माहाराजालाई थियो तर अहिलेको जनतामा छ,’ उनले भने।

ओलीलाई प्रचण्डले प्रतिक्रियावादी एजेण्ट भएको आरोप लगाएका छन् । ‘आज हाम्रै पार्टीभित्र घुसेको प्रतिक्रियावादी एजेण्टले निर्मम ढंगले संसद विघटन गरे। संविधानमात्रै होइन संविधान विघटन गरेको हो,’ उनले भने । उनले आफूले राजा माहाराजाको भकुण्डो खोलेको बताए।

पार्टी एकता पनि आफ्नै कारणले मात्रै सम्भव भएको र त्यसको प्रस्तावक नै आफू भएको प्रचण्डको दाबी थियो । ‘एकताको प्रस्ताव लिएर मैले गएको हो। म केपी ओलीको जिल्लामा पनि चुनावी भाषण गर्न गएको थिएँ। एकताको प्रस्तावक म आफै हो। तीन वर्ष हुँदानहुँदै ओलीले प्रहार गरे,’ उनले भने।

चुनावी अभियानकै क्रममा छोराको मृत्यु भएको र केही समय अघि छोरीको मृत्यु भएकाले आफूले त्यति बेला नै समाजवादको यात्रामात्रै आफ्नो सपना भएको प्रचण्डले स्मरण गरेका थिए । ‘छोरीको मृत्यु भएको थियो। मेरो लागि अब कुनै सपना छैन। अबको दश वर्षमा देशलाई समाजवादमा लैजाने थियो भनेको थिए। म देशलाई त्यतातिर लिएर मर्न चाहन्छु भनेको थिएँ,’ उनले भने।

केपी ओली बेइमान भएको प्रचण्डको टिप्पणी छ। ओली कम्युनिस्ट आन्दोलनमा लागेको देख्दा आफूलाई आश्चार्य लागेको उनको भनाई थियो । ‘केपी ओली बेइमान रहेछन्, धुर्त रहेछन्। कम्युनिष्ट आन्दोलनमा लागेको देख्दा आश्चार्य लागेको छ। केपीको समूहमा राजा माहाराजाका धुपौराहरु मात्रै छन्,’ उनले भने।