May 18, 2024, Saturday
२०८१ जेष्ठ ५
1:37:26 pm

नेपाली प्रतिभा प्रतिष्ठानद्वारा साहित्यकार डा राजेन्द्र विमल र युवाकवि विमला तुम्खेवा पुरस्कृत

3.5K

काठमाडौँ, १७ माघ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२० सालको ‘प्रतिभा सम्मान २०२०’ वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् डा राजेन्द्र विमल (जनकपुर) लाई प्रदान गरेको छ । नेपाली भाषा, साहित्यको प्रवर्धनमा उल्लेखनीय योगदान पुरयाए बापत विमललाई नगद रु ५० हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो ।

त्यस्तै नगद रु एक लाख राशिको ‘प्रतिभा पुरस्कार–२०२०’ युवाकवि विमला तुम्खेवा (तेह्रथुम) लाई प्रदान गरिएको छ । दुबै सम्मान तथा पुरस्कार प्रतिष्ठानद्वारा आज काठमाण्डौमा आयोजित ‘प्रतिभा सम्मान तथा पुरस्कार समर्पण समारोह’ मा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ताम्रपत्र र नगदराशिको सम्मान थैली सम्मानीत स्रष्टाहरुलाई प्रदान गर्नुभयो ।

युवाकवि तुम्खेवा खासगरि समसामयिक विषयवस्तुलाई सटिक ढङ्गले कविताका माध्यमबाट उजागर गर्दै आउनुभएको छ । प्रखर लेखन क्षमता राख्ने तुम्खेवा महिला अधिकार सशत्तीकरणका निम्ति क्रियाशिलका साथै पत्रकारिता तथा आख्यान लेखनमा समेत सक्रिय हुनुहुन्छ । उहाँका विभिन्न कवितासङ्ग्रहहरू प्रकाशित छन् । मधेशी मुलको भएर पनि नेपाली भाषा र साहित्यको विकास र प्रवर्धनमा डा विमलले महत्वपूर्ण भूमिका खेल्नुभएको छ । नेपाली भाषाका साथै मैथिली भाषामा दक्खल राख्ने उहाँका एक दर्जन बढी कृतिहरु प्रकाशित छन् । लामो समय विश्वविद्यालयमा नेपाली भाषाको प्राध्यापन गर्नुभएका डा विमलले सरल र शालिन व्यक्तित्वका साथै यथार्थवादी, सन्देशमूलक कथाकारको रुपमा पनि आफ्नो परिचय बनाउनुभएको छ ।

Advertisement

प्रतिभा सम्मान तथा पुरस्कार समर्मण समारोहलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति उप्रेतीले दुई पुस्ताका सर्जक विमल र तुम्खेवासहित भाषा, कला र साहित्यका विभिन्न स्रष्टालाई सम्मान गरेर प्रतिष्ठानले नेपाली वाङ्ग्मयको प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । संस्थाले सम्मानका अलावा स्वदेश तथा विदेशका स्रष्टाको कृति प्रकाशनका साथै नेपाली भाषा र साहित्यको प्रवर्धनमा समेत उल्लेख्य भूमिका निर्बाह गरेकामा संस्थाको सह्राना गर्दै यस्ता गतिविधिले साहित्य क्षेत्रमा नयाँ ऊर्जा र उत्साह पैदा हुने विश्वास व्यक्त गर्नुभयो । बहुलताबीचको एकताको प्रवर्धनका पक्षमा लागेर साहित्य सिर्जनामा लागेका डा विमल तथा युवा पुस्ताको सवाललाई साहित्य मार्फत उजागर गर्ने कवि तुम्खेवाको सम्मानले साहित्य क्षेत्रमा थप उत्साह प्रदान गरेको उहाँको भनाई थियो ।

भर्चुअल माध्यमबाट मन्तब्य राख्दै प्राज्ञ–प्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ कवि तिल विक्रम नेम्वाङ (बैरागी काँइलाले) कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि साहित्य सिर्जनाले नेपाली भावनालाई एकताको शुत्रमा बाधेको उल्लेख गर्नुभयो । भर्चुअलबाटै पुरस्कृत व्यक्तित्व डा विमलले नेपाली जहाँ जुन देशमा रहेपनि भूगोलले छेक्दैन भावनात्मक एकता प्रगाढ छ भन्ने सन्देश दिन पनि प्रतिष्ठानको सम्मानले जिम्मेवारी थपेको धारणा राख्नुभयो ।

कथाकार गोपाल अश्कले नेपाली भाषा र मैथिली भाषाको प्रवर्धनमा डा विमलको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । पत्रकार यशोदा तिमिल्सिनाले युवा पुस्ताको अब्बल प्रतिभा तुम्खेवाको लेखनयत्रालाई अझ सशक्त बनाएर लैजान सुझाव दिनुभयो । पुरस्कृत व्यक्तित्व तुम्खेवाले प्रतिष्ठानको पुरस्कारले साहित्य सिर्जनामा थप उत्साह र जिम्मेवारी थपिएको बताउनुभयो ।

प्रतिष्ठानका मानार्थ सदस्य एवम नेपाल सञ्योजक शशी लुमुम्बूले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा संस्थाले निरन्तर कार्य गर्दै आएको र नेपाली साहित्य प्रवर्धनको विविधमध्येको सम्मान र पुरस्कार पनि एक महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सन् २००८ मा बेलायतमा स्थापना भएको प्रतिभा प्रतिष्ठानले अहिलेसम्म २६ जना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गरिएको जानकारी दिनुभयो । प्रतिष्ठानले हरेक वर्ष प्रतिभा पुरस्कार र प्रतिभा सम्मानबाट एकएक स्रष्टालाई सम्मान गर्दै आएको छ । नेपाली साहित्य, कला र संगीत क्षेत्रमा योगदान पुर्याएका संघर्षशील युवा स्रष्टालाई प्रतिभा पुरस्कार र ५० वर्ष उमेर माथिका वरिष्ठ स्रष्टालाई प्रतिभा सम्मान प्रदान गर्दै आएको छ । त्यसैगरी प्रतिष्ठानले युवा स्रष्टाहरुको हौसलाका लागि बेलायतमा हरेक वर्ष अभिव्यक्ति शृंखला पनि आयोजना गर्दै आएको छ ।

प्रतिष्ठानका मानार्थ सदस्य एवम नेपाल सञ्योजक शशी लुमुम्बूको अध्यक्षतामा सम्पन्न समारोहमा संस्थाका अध्यक्ष गणेश राईले बेलायतबाट भर्चुअल सम्बोधन गरेका थिए भने कवि गीतकार टिका चाम्लिङले कार्यक्रम सन्चालन गरेका थिए।