October 26, 2021, Tuesday
२०७८ कार्तिक ९, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तीजा अर्थात् तीज

तीजा अर्थात् तीज

कैलाश पर्वतको दक्षिण फेदिमा कुनै समय मष्ट महाराजको राज्य थियो । मष्ट महाराजको राज्यमा सबैको हेरचाहाँ मष्ट स्वयमले गर्नु हुन्थ्यो। कसैले पनि आफ्नो राज्यमा दुःख नपाउन भन्ने चाहना उहाँको थियो ।


आफ्ना पाली, प्रजाहरुले दुःख पाएको उहाँलाई मन पर्दैन थियो । कसैले उहाँलाई बिन्ती बिसाएमा मष्टको साक्षतरुप प्रकट हुन्थ्यो । आफ्ना पाली, प्रजाको पुकार सुनेर तुरुन्त उपकार गरिदिनु हुन्थ्यो ।

मष्टको यही गुणले गर्दा मष्ट प्रतिको लोकप्रियता सर्वत्र फैलिएको थियो । त्यही लोकप्रियताका कारण उनको आदर, सम्मानका लागि मानिसहरुले झाडमाडौ र बाडमाडौहरु बनाउने चलन चलाएका थिए ।

मष्टको राज्यमा तिजा नामको एक किसान पनि बस्थे । तीजाको एउटा छोरी पनि थिइन् । साह्रै शुख सयलमा हुर्किएकी छोरीको बिबाह त्यसै राज्यको सिँझा भन्ने गाउँमा भएको थियो । सानै उमेरमा छोरीको विवाह भएकाले उसले दुःख पाइहोला भन्ने चिन्ता तीजालाई भइरहन्थ्यो ।


तीजा र उनकी श्रीमती सधैं खेतमा काम गर्न जान्थे । खेतमा खाजा खाने बेलामा पनि उनीहरु छोरीका बारेमा नै कुरा गरिरहन्थे । छोरीले खाना खाइ कि खाइन होला भन्ने चिन्ता उनीहरुलाई भैरहन्थ्यो ।

एक दिन तीजाकी मुखिनीले तीजालाई मष्ट महाराजलाई छोरीको हालखबर बुझ्न बाडमाडौ पठाइन   । छोरीसँग उनीहरुको भेट नभएको पनि वर्ष दिन हुनलागेको थियो ।

लेखक बुद्धप्रिय ।


श्रीमतीको सल्लाहअनुसार तीजाले बिहानै उठेर नुहाई धुवाइ गरी आँफैले पकाएको खीर, बाबर, फूल, अक्षता, धुप आदि बोकेर बाडमाडौं गएर मष्टको विधिपूर्वक पूजा गरी यसरी बिन्ती बीसाए, “हे, महाराज ! तपाईं हाम्रो रक्षक हुनुहुन्छ ! हाम्रो मनका  कुरा बुझिदिन सक्ने तपाईंबाहेक कोही छैन ! हाम्री छोरी बिबाह गरेर गएको एक साल हुनलाग्यो । बिबाहपछि छोरीसँग एक चोटि पनि भेट भएको छैन । उसले दुःख पो पाइकी भन्ने चिन्ताले सताइ रहन्छ । महाराजले मेरो छोरीको अवस्था बुझेर उपकार गरिदिनु पर्‍यो !”


यसरी तीजाको बिन्ति सुनेपछि मष्ट गोसाई प्रकट हुनुभै तीजालाई भन्नु भयो, “हे तीजा ! म तिम्रो छोरीको अवस्था बुझेर तुरन्त उपकार गर्ने छु, कुनै चिन्ता नगर भनी त्यहाँबाट अन्तर्ध्यान हुनुभयो ।
तीजाको छोरीको नाम मालिका थियो । मष्टले ध्यानदृष्टिद्वारा मालिकाको अवस्था हेर्नु भयो । उनी निकै दुब्लाएकी रहिछन् । उनी यसरी किन दुब्लाएकी रहिछन् भनी महाराजलाई कौतुहलता जागेपछि उहाँले मालिकाको वास्तबिक दिन चर्या हेर्नु भयो ।


बिहानको चौथो प्रहरमा भाले बासेपछि मालिका उठ्नु पर्दर्थ्यो । बिहान उठेपछि ढिकि, जाँतो गर्नु, घर आँगन सफा गर्नु, पधेराँमा पानी थाप्न जानु उनको दैनिक चर्या नै थियो । घरको काम सकेर मेला, पात जानु पर्दर्थ्यो ।


घरमा खाना पकाउने काम चाँही सासु–आमाले गर्दथिन् । घरका सबैलाई खाना दिए पछि सासु –आमाले आफु खाना खान्थिन् र आफुले खाइ सकेपछि बल्ल मालिकाको खाने पालो आउथ्यो । अरुले खाएर बाँकी रहेको खाना नै उनको भोजन हुन्थ्यो । कहिलेकाँही उनलाई प्रयाप्त खाना हुँदैनथ्यो । जति छ त्यतिमै चित्त बुझाउनु पर्दर्थ्यो ।


मालिकाको कठिन अवस्था देखेर मष्टलाई नराम्रो लागेछ । त्यसपछि मष्ट वायुको रुप धारणा गरी तीजाको घरमा पुगी मालिकाको बारेमा इति वृत्तान्त बताउनु भएपछि तीजाले भने, “हे गोसाइ महाराज ! छोरीको यस्तो अवस्था त थाह पाएँ, अब कसरी म मेरो छोरीको उपकार गर्न सक्छु त महाराज ?”
महाराजले भन्नु भयो– “हे तीजा, अहिले तिम्रा बारीभरी हरिया, काँक्रा, फर्सी, लौका, घिरौला फलेको बेला छ, जाऊ यही बेला छोरीलाई ल्याएर हरिया फलफूलहरु खुवाऊ अनि उनको घरमा पनि केही पठाइदेऊ ।”


मष्ट महाराजको यस्तो बचन सुनिसकेपछि तीजाले भन्यो, “हुन्छ महाराज ! म त्यसै गर्छु तर कुन समयमा लिन जानु उपयुक्त होला त महाराज ?”
गोसाई देउले तीजालाई सम्झाउँदै भन्नु भयो, “तीजा, तिमीलाई थाह नै छ पूर्णिमाको नजिकैका रातमा बारीमा चोरी हुनसक्छ त्यसैले अँधेरी रातकै बेला छोरीलाई बोलाउनु ठीक हुन्छ ।”
गोसाइ देवको जवाफ सुनि सकेपछि तीजा खाजा, चामल बोकेर छोरी लिन हिँडे । दुईदिन लगाएर छोरीका घरमा पुगे । वर्ष दिन पछि बुवालाई देख्न पाएकोमा मालिका धेरै खुशी भइन् । अनि बुवा मलाई लिन आउनु भएको होला भनी मन–मनमा सोच्न थालिन् ।


बेलुकाको खाना खाइ सकेपछि मालिकाका ससुराले सम्धीलाई सोधे “सम्धी साहेब ! के कति कामले पाल्नु भयो ? यो बर्खाको बेला कि सम्धिनी ज्युलाई सञ्च पो भएन कि ?”
सम्धीको जिज्ञासाको जवाफ दिँदै मालिकाका बुवाले भने “सम्धी साहेब ! सम्धिनी बिमारी भएकाले छोरी लिन आएको होइन । बारीमा थुप्रै हरिया फलफूलहरु फलेका हुनाले तपाईंकी सम्धिनीले छोरीलाई खुवाउने इच्छा गरेकी हुँदा छोरीलाई लैजाउ कि भनी आयाँ हुँ ।” केही दिनका लागि छोरीलाई माइत पठाइ दिनु पर्‍यो भनी तीजाले बिन्ती बिसाए ।
सम्धीको अनुरोध सुनिसकेपछि मालिकाका ससुराले निकै गरुँगो मनले “हुन्छ” भनेको भित्र जुठो–चुलोको धन्दा गरिरहेकी मालिकाले सुनिन् र असाध्यै खुशी भइन् । छोरी लिन सम्धी आएको र आफुले सम्धिलाई हुन्छ भनिदिएको कुरा मालिकाका ससुराले उनकी सासुलाई सुनाउँदा मालिका सासुको खुट्टामा तेल लगाइ दिँदैथिइन् ।


सासुका खुट्टामा तेल लागाइ सकेपछि मालिकालाई सासुले भनिन्– “बुहारी ! बाटोमा खाने खाजा बनाएर सुत, भोलि बिहान सबैरै बाटो लाग्नु ।” सासुको वचन भुइँमा खस्न नपाउदै हवस् सासुआमा भन्दै मालिका खाजा बनाउन भान्सातिर लागिन् ।


बाटोमा खाने चाम्रे, र चाम्रेसँग खानलाई गुन्द्रुकको अचार बनाएर खाजा, चामल र लुगाफाटो झोलामा राखेर मालिका पनि सुतिन् । तिजा छोरी लिन घरबाट हिंड्नासाथ मष्ट महाराजले सारा गाउलेलाई आफ्ना छोरीचेलीलाई माइत बोलाएर बारीमा फलेका हरिया फलफूलहरु खुवाउन उर्दी जारी गर्नु भएको थियो ।


तर तीजाबाहेक अरु कोही पनि छोरी–चेली लिन जान सकेनन् । यता तीजाले छोरी लिएर घर आउँदै थिए । घरमा छोरीलाई खुवाउन मालिकाकी आमाले बारीका सबै फलफूलहरु टिपेर राखेकी थिइन् । सेल रोटी, खीरजस्ता मीठा–मीठा परिकारहरु बनाएर राखेकी थिइन् । बाउ, छोरी आइपुग्नसाथ तीजाको श्रीमतीले उनीहरुलाई खानपान गराइन् । खाना खाइ सकेपछि मालिकालाई उनकी आमाले मष्ट महाराजले सुनाएको सबै कुरा बताइन् ।


त्यसको भोलिपल्ट मष्ट गोसाईले कस-कसले छोरीचेली बोलाएर हरिया फसल खुवाए भनी जाँच्न आफ्ना सेनालाई साधा पोशाकमा गाउँ घुम्न पठाए । गाउँ घुमेर आएका सेनाले महाराजलाई सुनाए– “महाराज ! तीजाबाहेक अरु कसैको पनि बारीमा फसल टिपिएको छैन । “यसको मतलब अरुले छोरीचेली बोलाएनछन् क्यारे । मष्ट देवाइले भन्नु भयो– “सैनिक हो, ज-जसको बारीमा काक्रा, फर्सी, लौका आदि टिपेको छैन, जाऔ भोलि राती उनीहरुको बारीमा चौथी हानेर आओ !”
मष्ट देउको यस्तो आदेश भएको हुनाले सेनाले राती गएर चौथी हान्यो । बारीका काँक्रा, फर्सी, घिरौला आदि हराए । भोलिपल्ट गाउँलेहरु मष्टको दरबारमा जम्मा भए र मष्ट महाराजलाई उजुर गरे– “महाराज ! आज राती हाम्रो बारीका सबै फलफूलहरु हराए, कसले चोरी गर्‍यो, पत्ता लगाइदिनु पर्‍यो !”


गाउँलेहरुको उजुरी सुनि सकेपछि मष्ट देउले भन्नु भयो, “यहाँ मैले सबैलाई देखे तर किन तीजालाई त देखिन ?” गाउँलेहरुले एकै स्वरमा भने “तीजाको चोरी भएन, त्यसैले आएन महाराज !“
गाउँलेहरुको कथन सुनेपछि मष्ट गोसाईले भन्नु भयो, “हे पाली, प्रजा हो, तिमीहरुले तीजाले जस्तो आफ्नी छोरीलाई बोलाएर आफ्नो बारीमा फलेका फसल नखुवाएको हुँदा तिमीहरुको चोरी भएको हो । अर्को सालदेखि तिमीहरुले पनि तीजाले जस्तै छोरीचेलीलाई माइत बोलाएर बारीको फसल खुवाउनु चोरी हुँदैन ।”


मष्ट गोसाईको यस्तो निर्णय सुनेर सबै पाली प्रजा ‘हुन्छ महाराज’ भन्दै आआफ्नो बाटो लागे । अर्को साल धेरैजसो गाउँलेहरुले छोरीचेली बोलाएर बारीको फसल खुवाए, तर केही मानिसहरुले छोरीचेलीलाई बोलाएर खुवाउन अटेर गरे ।


फेरि पनि उनीहरुको बारीमा चौथी हानियो । काँक्रा, फर्सी उसरी नै हराए । मष्ट गोसाईले गाउँलेलाई बोलाएर सोध्नु भयो, “यो वर्ष तिमीहरुको फलफुल चोरी भयो कि भएन ? धेरै जसो गाउँलेहरुले भने “भएन महाराज”, तर केही गाउँलेले भने “हाम्रो त चोरी भयो महाराज !”
मष्ट महाराजले गाउँलेलाई भन्नु भयो, “धेरैजसोको किन चोरी भएन र थोरैको मात्र किन चोरी भयो त ? तिमीहरुलाई के लाग्छ !” गाउँलेहरुले भने “हामीले हजुरको आदेशअनुसार छोरीचेलीलाई माइत बोलाएर बारीको फलफूल खुवायौ, अनि बाँकी रहेको फलफुल कोसेली पठाइ दिएको हुनाले हाम्रो बारीमा चौथी हान्नलाई केही थिएन । त्यसैले चोरी भएन, तर अरुले त्यसो नगरेको हुँदा चोरी भएको हो महाराज !”


मष्ट देउले जसको बारीबाट काँक्रा, फर्सी चोरी भएको थियो, उनीहरुलाई भन्नु भयो, “प्रजा हो, ल तिमीहरु नै भन अब बारीको फलफूल चोरी नहोस् भन्नका लागि के गर्दा हुन्छ त ?” उनीहरुले तीजाले जस्तै अर्को सालबाट आफुहरुले पनि छोरीचेलीहरु माइत बोलाएर बारीको हरिया फलफुलहरु खुवाउने जवाफ मष्ट देउलाई दिए ।


सबैको कुरा सुनिसकेपछि मष्ट देउले खुशी प्रकट गर्दै भन्नु भयो, “सिँझाबाट मालिकालाई हरिया फलफुलको भोजन गराउन माइत बोलाउने प्रथाको थालनी तीजाबाट भएको हुँदा अबदेखि यस दिनलाई  तीजा भन्नु भनी हुकुम भयो ।”


मष्टको कुरा सुनि सकेपछि पुरुषहरुसँगै मष्ट देवाइको दरवार गएका महिलाहरुले भने “हे मष्ट महाराज !हामी   महिलाहरु सधैं  तीजाका अवसरमा तमी मष्ट गोसाईलाई काँक्रा , लौका, घिरौला तथा नाना थरिका फूलहरु चढाएर   पूजा गरी सधैं सम्झनेछौ, हामी श्वासनी मानिसहरुलाई  यसरी नै सधैं भलो गर्दिनुस् !”
महिलाहरुको यस्तो प्रतिज्ञा सुनेपछि “सुब्बा भया ! सुब्बा भया ! सुब्बा भया !” भन्दै मष्ट देवाइ त्यहाँबाट बिदा हुनु भयो ।