May 3, 2024, Friday
२०८१ बैशाख २२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु : ५० हजारको पीसीआर जाँच गरिने

वीरगन्ज । सुमदायमा कोरोना संक्रमण फैलिएको आशंकापछि वीरगन्जमा आइतबारदेखि कोरोनाको मास टेस्टिङ (समुदायस्तरमै परीक्षण) सुरु गरिएको छ ।

साउन महिना सुरु भएपछि नयाँ संक्रमितको संख्या बढ्नुका साथै आइसोलेशनमा संक्रमितको मृत्यु समेत हुन थालेपछि वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका विज्ञहरुको छ ।

Advertisement

सोही अनुरुप गत शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वीरगन्ज महानगर क्षेत्रमा परीक्षणको दायरा बढाएर मास्ट टेस्टिङ सुरु गर्ने निर्णय गरेको थियो । पछिल्लो समय वीरगन्जमा लक्षण सहितका संक्रमितको संख्या बढ्दै गएको, केही संक्रमितको मृत्यु समेत भएको र अस्पतालमा भर्ना रहेका संक्रमितको अवस्था जटिल रहेकाले वीरगन्जमा शनिबारदेखि निषेधाज्ञा जारी गरी आइतबारदेखि मास टेस्टिङ सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । यसका लागि वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले छुट्टा छुट्टै स्वाब संकलन केन्द्र स्थापना गरी आइतबारदेखि स्वाब संकलन सुरु गरेका छन् ।

५० हजारको पीसीआर जाँच गरिने

वीरगन्ज महानगरपालिकाले भने ५० हजार जनाको परीक्षण गर्ने लक्ष्यसहित एक घर एक पीसीआर परीक्षण अभियान सञ्चालन गरेको छ । नगर प्रमुख विजय सरावगीका अनुसार वीरगन्ज महानगरपालिकामा करिब ४० हजार घरधुरी छन् ।

यसवाहेक पेशा व्यवसायका लागि बाहिरबाट आएर बसेका करिब १० हजारको पनि परीक्षण गरिने बताइएको छ । मेयर सरावगीले अभियानको पहिलो दिन आइतबारको परीक्षण सकिएपछि थप छलफलमा बसेर नयाँ रणनीति बनाएर अघि बढ्ने जानकारी दिए ।

जिल्ला प्रशासनको छुट्टै मास टेस्टिङ

जिल्ला प्रशासन कार्यालयले पनि वीरगन्ज महानगरमै आइतबारदेखि छुट्टै मास टेस्टिङ सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साको समन्वयमा जिल्ला प्रशासन कार्यालयले मास टेस्टिङ सुरु गरेको हो ।

आइतबार पहिलो दिन वीरगन्जको मीना बजार र राधेमाइ टोलमा गरी २ सय ५९ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

आइतबार मीनाबजारमा स्वाब संकलन केन्द्र स्थापना गरी त्यहाँका व्यापारी, तरकारी तथा फलफूल पसले र मृतक संक्रमितका परिवारका सदस्य र छिमेकी गरी १ सय ९ जनाको स्वाब संकलन गरिएको ठाकुरले जानकारी दिए । यस्तै संक्रमणको जोखीममा रहेको राधेमाइ टोलमा आइतबार नै  १ सय ५० जनाको स्वाब संकलन गरिएको उनले बताए ।

साउन पहिलो सातादेखि वीरगन्जमा संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्सामा संक्रमितको संख्या २ सय ४३ पुगेको छ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालको ५० बेडको आइसोलेशनमा अहिले ५४ जना संक्रमित उपचाररत छन् । पर्साको वीरगन्जस्थित कोभिड अस्पतालमा अहिलेसम्म कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ ।