May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्ने तीव्र तयारी

काठमाडौं  । हवाई सेवा भदौ १ गतेदेखि पुनः सुरु हुने भएको छ। सरकारले कोभिड १९ महामारीको जोखिमलाई ध्यानमा राख्दै विभिन्न मापदण्ड निर्धारण गरी आन्तरिक र बाह्य दुवै हवाई सेवा सुरु गर्न लागेको हो। यसका लागि सरकारले आन्तरिक गृहकार्यमा तीव्रता दिएको छ।

कोभिड १९ को महामारीका कारण सरकारले गरेको बन्दाबन्दी अन्त्यसँगै झण्डै ५ महिनापछि हवाई सेवा सञ्चालनमा आउन लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान व्यवस्थापन, उडान अवधि, यात्रु र विमानको स्वास्थ्य सुरक्षा व्यवस्थापनलगायत विषयमा तयारी थालेको छ। प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भदौ १ गतेदेखि आन्तरिक र बाह्य उडान गर्ने तयारी रहेको जानकारी दिए। तर आन्तरिक वायुसेवा सञ्चालक सकेसम्म साउनमै उडान थाल्न सरकारसँग आग्रह गरिरहेका छन्।

Advertisement

बाढीपहिरोका कारण अधिकांश जिल्लाको सडक मार्ग अवरुद्ध भएको, उपत्यका जोड्ने प्रमुख सडक खण्डसमेत क्षतिग्रस्त भएको भन्दै आन्तरिक वायुसेवा कम्पनीले साउनमै उडान अनुमतिका लागि सरकारसँग माग गरिरहेका छन्। प्राधिकरणले भने भदौ १ अघि उडान गर्न नसकिने जनाएको छ।

पोखरेलका अनुसार यसअघि नै जारी गरेको स्वास्थ्य र उडान सुरक्षासम्बन्धी मापदण्डका आधारमा सेवा सुरु गर्न लागिएको हो। भदौै १ गतेदेखि उडान गर्ने विषयमा सुझाव दिन प्राधिकरणले कार्यदल पनि गठन गरेको थियो। कार्यदलले आन्तरिक उडानका विषयमा दिएको सुझावका आधारमा थप गृहकार्य गरी उडान गर्न लागिएको छ।

कार्यदलमा प्राधिकरण र आन्तरिक वायुसेवा कम्पनी सञ्चालक आवद्ध थिए। कार्यदलमा आवद्ध आन्तरिक विमान कम्पनीका सञ्चालक र सरकारबीच आन्तरिक उडानका विषयमा ५ बुँदे सहमतिसमेत भइसकेको प्राधिकरण प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

आन्तरिकतर्फ दैनिक १२ घण्टा

प्राधिकरणका अनुसार आन्तरिकतर्फ दैनिक १२ घण्टा मात्रै उडान भर्न सक्ने तालिका बनाइएको छ। यस्तै आन्तरिक टर्मिनलमा प्रतिघण्टा ३ सय यात्रुलाई मात्रै सेवा दिने गरी उडान भर्ने मिल्ने व्यवस्था मिलाइएको छ। भदौ पहिलो साताका लागि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म आन्तरिक उडान खुलाउने र प्रतिघण्टा ३ सय यात्रुलाई सेवा दिने गरी उडान तालिका निर्धारण गरिएको प्राधिकरणले जनाएको छ।

आन्तरिकतर्फ काउन्टरबाट यात्रुको जाँचपछि वायुसेवा कम्पनीले डिपार्चर क्षेत्रबाट यथाशीघ्र जहाजतर्फ प्रस्थान गराउनुपर्ने र उडान ढिलो भएको अवस्थामा यात्रुलाई बस, जहाज वा ह्यांगरमध्ये उपयुक्त स्थानमा व्यवस्थापन गर्नुपर्ने मापदण्ड बनाइएको छ।

सरकार र आन्तरिक विमान कम्पनीका सञ्चालकबीच भएको सहमति भदौको पहिलो साताका लागि मान्य हुनेछ। यसपछि पुनः भदौ ५ गते बैठक बसेर नयाँ मापदण्ड निर्धारण गरिनेछ।

क्षमताको ३३ प्रतिशतमात्र सञ्चालन

सरकारले पहिलो चरणमा त्रिभुवन विमानस्थलको कुल क्षमताको ३३ प्रतिशत सेवा मात्रै सञ्चालन गर्ने सरकारको तयारी छ। कोरानाका कारण यात्रुको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर पहिलो चरणमा बाह्य उडानको ३३ प्रतिशत मात्रै उडानको तयारी भएको प्राधिकरणको भनाइ छ। ‘आन्तरिक र बाह्य क्षेत्रमा हुँदै आएको उडान सेवामध्ये तत्काललाई ३३ प्रतिशत मात्रै खुलाउने तयारी छ’, क्षेत्रीले भने।

नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयले नेपालमा उडान भर्दै आएका अन्तर्राष्ट्रिय विमान कम्पनीलाई उडान खुला गरिएको विषयमा पत्राचारसमेत गरिसकेको छ। सरकारले जारी गरेको कोभिड १९ अपरेसन गाइडलाइनअनुसार नै बाह्य उडान र यात्रुको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयनमा आउनेछ।

‘हामीले अन्तर्राष्ट्रिय उडान खुला गरे पनि नेपालमा उडान भर्दै आएका मुलुकले अन्तर्राष्ट्रिय उडान गर्ने वा नगर्ने सम्बन्धमा हालम्म कुनै जानकारी आइपुगेको छैन’, प्रवक्ता क्षेत्रीले भने। कतारले भदौ १ गतेबाट ड्रिमलाइनरबाट १ वटा उडान भर्ने मौखिक जानकारी दिएको क्षेत्रीले बताए। नेपालमा उडान भर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पुनः उडान तालिका माग गर्नुपर्ने हुन्छ। एकपटक निर्धारण भएको उडान तालिका ९० दिनका लागि मात्रै मान्य हुन्छ। त्यसपछि पुनः वायुसेवा कम्पनीले उडान तालिका माग गर्नुपर्ने नियम छ। ‘तर हालसम्म कुनै पनि बाह्य वायुसेवा कम्पनीले उडान तालिका माग गरेका छैनन्’, क्षेत्रीले बताए। बाह्य वायुसेवा कम्पनीले उडान तालिका माग गरे कोभिड जोखिमको अवस्था हेरी अनुमति दिन सकिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता क्षेत्रीका अनुसार नेपालमा उडान भर्ने मुलुकमध्ये टर्कीबाहेक अन्य मुलुकले कोभिडका कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको छ। यसमध्ये यूएईले चाँडै नै उडान खुला गर्ने तयारी गरेको छ। चीन, जापान, दक्षिण कोरिया, हङकङ, र बंगलादेशले भने आंशिक रूपमा उडान बन्द गरेका छन्। नेपालमा उडान भर्ने मुलुकमा भारत, चीन, तिब्बत, हङकङ, मलेसिया, सिंगापुर, दुबई, कतार, जापान, कोरिया, बंगलादेश, थाइल्यान्ड, ओमान, भुटान, कुवेत र टर्की छन्।

कोभिड १९ को महामारी अघिसम्म पर्यटकीय सिजनमा अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेशी र बाह्य मुलुकका गरी ३० विमान कम्पनीले दैनिक करिब ५५ वटासम्म उडान हुँदै आएको थियो। नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित ३० वटा अन्तर्राष्ट्रिय विमान कम्पनीले नेपालमा उडान भर्दै आएका थिए। नेपालबाट विश्वका १६ मुलुकका करिब ४० गन्तव्यसम्म उडान भर्न सकिने प्राधिकरणले जनाएको छ।

सहज छैन अन्तर्राष्ट्रिय उडान

नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपाली ध्वजाबाहक नेपाल एयरलाइन्सले भारत, जापान, कतार, थाइल्यान्ड, दुबइ र हङकङ गरी ९ गन्तव्यमा उडान भर्दै आएकोमा जापानबाहेक सबै मुलुकमा उडान प्रतिबन्ध कायमै छ। कोभिडका कारण अन्य मुलुकमा तत्काल उडान सुरु गर्ने अवस्था नरहेको नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्। जापानमा उडान सुरु गर्न प्रक्रिया अघि बढाइएको छ।

नेपालको निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पनि साउदी अरब, चीन, दुबई, बंगलादेश, मलेसिया र कतारमा उडान भर्दै आएको थियो। नेपाल एयरलाइन्सजस्तै हिमालयलाई पनि उडान प्रतिबन्धका कारण अन्य मुलुकमा उडान भर्न कठिन छ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले सरकारले भदौ १ गतेदेखि उडान सुरु गर्ने बताए पनि कसरी, कुन मुलुकमा र उडान अनुमति प्रक्रिया के हुने भन्ने जानकारी नदिएको बताए।