April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

निकुञ्ज र नगरपालिकाको द्वन्द्व हुँदा सुकुम्वासी मर्कामा

साउन १३, चितवन । पुस्तौँदेखि सुकुम्वासी जीवन बिताएका भागीराम चेपाङले नयाँ घर पाए। चितवन राष्ट्रिय निकुञ्जभित्रको कुसुम खोलामा बस्दै आएका उनको लालपुर्जा सहितको जग्गा र त्यसमा घर पाउने कुराले खुसीको सीमा रहेन। पटक पटक बस्ती खाली गराउन निकुञ्जले दिएको दबाब थेग्न नसकेका उनी ढुक्कको जीवन गुजार्न ठिक मानेर वर्षौंदेखि बस्दै आएको थलो छोड्न राजी भए।

माडी नगरपालिका ९ स्थित राईगाउँमा उनले पक्की दुई कोठे घर पाएका छन्। उनले घर त पाए तर खुसी पाएनन्। बस्तीमा बिजुलीको पोल र तार भए पनि बस्ती अँध्यारो छ। खानेपानीको सुविधा छैनन्। संरक्षित क्षेत्रभित्र घर निर्माण गरेको भन्दै निकुञ्जले रोक लगाएको छ।

Advertisement

बिजुली, खानेपानी लगायतका काम अघि बढ्न नसक्दा सुकुम्वासी परिवारको दैनिकी कष्टकर बनेको छ। थातथलो छोडेर आएका उनीहरूको बिचल्ली भएको छ। ‘घर त पायौं खुसी छौं तर न पानी न बिजुली, हाम्रोमा विकास रोकिएको छ’, भागीरामले भने, ‘यहाँ पनि बस्न पाइन्नँ भन्छन्, हाम्रो त बिचल्ली भएको छ।’ माडीको कुसुमखोलाका सुकुम्वासीको खुसीको सीमा रहेन। पुस्तौंदेखिको सुकुम्वासी परिवारलाई माडी नगरपालिकाले घर बनाइदिने आश्वासनले खुसी भए। बस्ती छोडेर आएको झन्डै डेढ वर्ष भयो। अहिले उनीहरूसँग न लालपुर्जा छ न ओत लाग्ने घर नै।

अहिले बसिरहेको स्थानमा विवाद सुरु भएपछि उनीहरूको उठिवास भएको छ। पुरानो बस्ती छोडेर आएकाहरू पछुताउन लागेका छन्। बस्तीको टुंगो नलाग्दा उनीहरू बिचल्लीमा परेका हुन्। राईटोलमा खरको छानामा बस्दै आएकी सन्चमाया चेपाङको घर बनाउने पालो थियो। तर निर्माण हुन सकेन। उनले भनिन्, ‘नयाँ घरमा बस्न पाए हुन्थ्यो भन्ने लाको छ।’ दुई घण्टा हिँडेर पानी लिन जानुपर्ने बाध्यता छ। बाढी, पहिरोको चेपेटामा परेर आ श्रय खोज्दै २०४८ सालदेखि कुसुम खोलामा बसेका थिए। जहाँ १ सय ६० चेपाङका घर थिए।