April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौंमा कोरोना सङ्क्रमण बढेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द

काठमाडौंमा कोरोना सङ्क्रमण बढेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द

साउन १५, काठमाडाैं । राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड गोकर्णेश्वर महादेव मन्दिरमा बढेको थियो । 

भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकामा भक्तजनको भीडका कारण सङ्क्रमण बढ्ने जोखिम देखिएकाले बिहीबारदेखि बन्द गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए।
 
भक्तजनलाई पूजा आराधना एवं दर्शनका लागि मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती पूर्ववत् सञ्चालन हुने उनले सुनाए । राजा मानदेवको शासनकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर महादेव मन्दिर उपत्यकाका महत्वपूण शिवालयमध्येमा पर्छ । पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुने भएकाले पनि यस मन्दिरको पौराणिक महत्व रहेको जनाइएको छ । 

Advertisement

वाग्मती उत्तरतिर बग्ने उत्तरबाहिनी क्षेत्रसमेत यहीँ रहेकाले धेरै भक्तजन यहाँ आएर पूजा, आराधना एवं दर्शन गर्ने इच्छा राख्छन् । विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको यसअघिका दुई सोमबार गोकर्णेश्वरमा भीड लागेको थियो । साउनका प्रत्येक दिन बिहान विगत वर्षमा भन्दा यसपटक भीड बढेको देखिएपछि कोरोनाको जोखिम बढ्न नदिन मन्दिर बन्द गरिएको हो । 
 
कोरोनाको जोखिम नघटेसम्म मन्दिर नखोलिने जनाइएको छ । पशुपतिनाथ मन्दिरलगायत उपत्यकाका अन्य ठूला मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छन् । गोकर्णेश्वर महादेव मन्दिर नजिकैका ५४ वर्षीय एक स्थानीयवासीको कोरोना  सङ्क्रमणका कारण असार तेस्रो साता निधन भएको थियो । पछिल्लो समय उपत्यकामा पुनः सङ्क्रमण बढ्न थालेको र मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेपछि बन्द गर्न बाध्य हुनुपरेको मन्दिर प्रबन्ध समितिले जनाएको छ ।