April 28, 2024, Sunday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv

प्रतिनिधि सभा सांसद प्रदीप यादव सहित पर्सामा थप ६४ जनामा कोरोना

वीरगन्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभामा निर्वाचित सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले बताए ।

सांसद यादवले शुक्रबार बिहान परीक्षणका लागि स्वाब दिएका थिए । सांसद यादवका अंगरक्षक र चालकमा पानि कोरोना संक्रमण देखिएको छ ।

Advertisement

संक्रमित हुनेमा एक जना चिकित्सक पनि छन् । ‘३ महिलासहित १५ वर्षदेखि ६८ वर्ष उमेर समूहका ६४ जनामा संक्रमण देखिएको छ,’ मेसु डा.उपाध्यायले भने, ‘सांसद प्रदीप यादवमा पनि कोरोना पोजिटिभ पुष्टि भएको छ ।’

सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् । शुक्रबार राति उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु ।’

यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय पर्सामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पर्सामा पछिल्लो दुई दिनमा मात्र ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।