May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी

आकर्षक पर्यटकीय गन्तव्य बन्दै हरिहरपुरगढी

काठमाण्डौँ – वाग्मती प्रदेशको पूर्वी पहाडी जिल्ला सिन्धुलीको कर्णाली भनेर चिनिने एक स्थानीय निकाय हो हरिहरपुरगढी गाउँपालिका । सिन्धुली जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित साविकका चार वटा गाविस महेन्देझ्याडी, हरिहरपुरगढी, क्यानेश्वर र पीपलमाडी मिलेर हरिहरपुरगढी गाउँपालिका बनेको छ ।

पूर्वमा मरिण गाउँपालिका, पश्चिममा मकवानपुर र रौतहट, उत्तरमा काभ्रे जिल्ला र दक्षिणमा सर्लाही जिल्लासम्म सिमाना फैलिएको यस गाउँपालिकाको क्षेत्रफल २४३.९ वर्ग किलोमिटर रहेको छ । हरिहरपुरगढी मल्लकालीन समयमा मध्य तराईबाट पनौती हुँदै काठमाडौँ निस्कने प्रमुख पैदल मार्गका रूपमा रहेको थियो ।

Advertisement

महेन्द्र राजमार्गको निर्माणपछि यो मार्ग ओझल पर्दै गयो । व्यापारका लागि पनौती, बनेपा, भक्तपुरबाट हरिहरपुरगढी नजिकैको बसेरी गाउँ पुगेका नेवार समुदाय पनि घण्टेमा झरे । घण्टेका नेवार अहिले व्यापार होइन कृषि पेशामा आबद्ध भइसकेका छन् । हरिहरपुरगढी किल्लाको संरक्षण र व्यवस्थापनमा स्थानीय र प्रदेश सरकाको ध्यान दृष्टि पुगेको छ । सोही क्रममा हरिहरपुरगढी क्षेत्रमा पर्यटन विकास, पर्यटन प्रवद्र्धन, प्रचारप्रसार, पर्यटकीय क्षेत्रको पहिचानलगायतका विषयमा कसरी अगाडि बढ्ने भन्नेमा निरन्तर औपचारिक तथा अनौपचारिक छलफल हुने गरेका छन् । सिन्धुली जिल्ला क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य हरिबोल गजुरेलको निर्वाचन क्षेत्र रहेको यस क्षेत्रमा पुरातात्विक महत्वलाई प्राथमिकतामा राख्दै गढीको संरक्षण र व्यवस्थापनमा ध्यान दिन आवश्यक थप पहल निरन्तर भइरहेको छ ।

प्रदेश सरकारले एक जिल्ला एक पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने योजनाअनुसार हरिहरपुरगढीलाई प्राथमिकतामा राखेको छ । सो परियोजनाका लागि रु एक करोड विनियोजन गरिएको सांसद गजुरेलले बताउनुभएको छ । हरिहरपुरगढी संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष कमलजङ्ग राई, प्रदेशसभा सदस्य बुद्धिमान माझीलगायतको ध्यान पुगेको यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षणमा थप मद्दत पुगेको हरिहरपुरगढी गाउँपालिकाले जनाएको छ । मकवानपुर राज्यको प्रमुख प्रशासकीय किल्लाका रूपमा इतिहासमा अङ्कित हरिहरपुरगढी सिम्रौनगढका राजा हरिसिंहदेवले निर्माण गरेको इतिहासमा पाइन्छ ।

सन् १३२६ मा दिल्लीका सुल्तान गयासुद्दीन तुगलगको नेतृत्वमा आएको मुस्लिम सेनाले कला, संस्कृति र आर्थिक हिसाबले समृद्ध सिम्रौनगढ राज्यमाथि आक्रमण गरेपछि केही सेना र सहयोगीसहित राजा हरिसिंह देव, रानी देवलदेवी, मन्त्री चण्डेश्वर ठाकुरलगायत उत्तरतिर भागेका थिए । त्यही क्रममा हरिहरपुरको जङ्गलबीचको डाँडामा किल्ला बनाई बसेको जानकारले बताएका छन् । सोही किल्लामा पछि मकवानपुरका सेना राजाले आक्रमण गरेपछि हरिसिंहदेव पूर्वतिर भागेर तिनपाटन भन्ने ठाउँमा पुगेर किल्ला बनाई बसे र त्यसको केही समयपछि सोही स्थानमा राजा हरिसिंह देवको निधन भएको इतिहासमा उल्लेख गरेको पाइन्छ ।

सिन्धुलीगढीबाट पराजित भएर भागेका अङ्ग्रेज कप्तान किनलक बाँकी रहेका सेना लिएर बारातिर अड्डा जमाउन थालेका थिए । बागमतीको किनार पछ्याउँदै हरिहरपुरगढी भएर पनौती निस्कने योजनाअनुसार अभियान थाल्ने क्रममा हरिहरपुरगढीमा किल्ला जमाएर बसेका गोर्खाली सेनासँग पुनःभिडन्त भएको इतिहासकार बाबुराम आचार्यले पृथ्वीनारायण शाहको जीवनी पुस्तकमा चर्चा गर्नुभएको छ । मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग पहिलो विवाह गरेका पृथ्वीनारायण शाहसमेत हरिहरपुरगढीमा पटकपटक पुग्नुभएको इतिहासमा पाइन्छ । हेमकर्ण सेनले घण्टेमा महादेव मन्दिर स्थापना गरी घण्ट चढाएको शिलालेखमा उल्लेख छ । मन्दिरमा प्राप्त शिलालेखमा हेमकर्णेश्वर महादेव भनेर उल्लेख गरिएको सो मन्दिरलाई घण्टे महादेवका नामले समेत स्थानीयले पुकार्ने गरेको पाइन्छ ।

वाग्मती नदिको मैदानी भागमा रहेको मन्दिर क्षेत्रमा रहेको गाउँलाई घण्टे गाउँका रूपमा चिनिन्छ । मन्दिरको छेउमा हेमकर्ण सेनको शीतकालीन दरबारसमेत रहेको छ ।

सो दरबारको संरक्षणमा स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको छ ।