May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपालमा थप ५९४ मा कोरोना सङ्क्रमण

नेपालमा थप ५९४ मा कोरोना सङ्क्रमण

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ५९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ५७५ जनाको पिसिआर परीक्षण गरिएको थियो । योसँगै देशभर कोरोना सङ्क्रमितको संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । विगत २४ घण्टामा २४० जना कोरोनाबाट निको भई घर फर्किएका छन् ।

Advertisement

हालसम्म १७ हजार ७७ जना कोरोनाबाट मुक्त भई घर फर्किएका गौतमले बताउनुभयो । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै धेरै ११ हजार ५७५ जनाको नमूना परीक्षण गरिएको थियो । पर्सा ७१, मोरङ ५३, सुनसरी २४, महोत्तरी २४, बारा २४, तनहुँ २२, बाँके २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, सर्लाही १४, चितवन १४, रुपन्देही १४, सिन्धुली ११, झापा नौ, कैलाली नौ, सिरहा छ, अछाम छ, रौतहट पाँच, बर्दिया पाँच, कपिलवस्तु पाँच, दैलेख तीन, सिन्धुपाल्चोक दुई, नवलपुर दुई, कञ्चनपुर दुई तथा उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ ।

मृत्यु हुनेमा ७७ पुरुष र २२ महिला छन् । कोरोनाबाट मर्नेमा सबैभन्दा बढी प्रदेश नं २ मा ४२ तथा सबैभन्दा कम कर्णाली प्रदेशमा चारजना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार आज कोरोनाबाट मोरङ र सिरहाका एक–एक पुरुष तथा बारामा दुई पुरुषको ज्यान गएको हो । पाँच सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, पर्सा, रौतहट र महोत्तरी रहेका छन् । हालसम्म चार लाख ९४ हजार ६१३ जनाको पिसिआर परीक्षण गरिएको छ 

थपिएका सङ्क्रमितमध्ये काठमाडौँ ८३, ललितपुर ३० र भक्तपुरका छ जना छन् ।