April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्थायी तटबन्ध गर्छौः मुख्यमन्त्री भट्ट

स्थायी तटबन्ध गर्छौः मुख्यमन्त्री भट्ट

टीकापुर – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भजनी नगरपालिकामा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

निरीक्षणपछि मुख्यमन्त्री भट्टले हुलाकी सडकलाई व्यवस्थित रुपबाट पानी निकासी गर्ने, भजनी क्षेत्रमा रहेका नदीमा बृहत् तटबन्ध गर्ने र सामुदायिक उच्च भवन बनाउने बताउनुभयो । मुख्यमन्त्री भट्टले वर्षेनी आउने बाढीको समस्याबाट नागरिकलाई छुट्कारा दिलाउन नदीमा बृहत् तटबन्धका लागि कैलालीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाइ आयोजनासँग समन्वय गरिने बताउनुभयो । ‘‘वर्षेनी सरकारले बाढी तथा कटान तटबन्धमा गरिएको लगानी खेर गएको छ । अब स्थायी समाधान खोजिनुपर्छ’’, मुख्यमन्त्री भट्टले भन्नुभयो, ‘‘हामी कैलालीमा सञ्चालित सिंचाइ आयोजनासँग यहाँ दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माण तथा नदी नियन्त्रणका क्षेत्रमा काम गर्न आग्रह गर्छौँ ।

Advertisement

यहाँको समस्याको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारले काम थाल्छ ।’’ उहाँले वर्षात्मा हुने नदी कटान र उच्च वहाव भएर बस्तीमा पस्ने कार्य रोक्नका लागि आरसिसी ढलानसहितको तटबन्ध गरिने बताउनुभयो । ‘‘विस्थापितलाई आवश्यक खाद्यान्न, लुगाकपडा र सुरक्षित बसाइबारे हामी गम्भीर छौँ’’, भट्टले भन्नुभयो, ‘‘प्रदेश सरकारले राहत प्याकेज ल्याउँछ ।’’ अवलोकनमा मुख्यमन्त्री भट्टसहित कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री विनिता चौधरी, संघीय सांसद गौरीशंकर चौधरी, राष्ट्रियसभा सदस्य हरि चौधरी, सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरभान चौधरी र संविधानसभा सदस्य हरि श्रीपाइली, भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीलगायतको सहभागिता थियो । भजनीमा यही साउन १४ गते आएको बाढीले एक हजार ६७१ परिवार विस्थापित भएका छन् ।

विस्थापितमध्ये अधिकांश परिवार भजनी –१ स्थित मोहन्याल सामुदायिक वनमा पाल टाँगेर बसेका छन् ।