April 22, 2026, Wednesday
२०८३ बैशाख ९, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
३२ अर्ब रुपैयाँ मुआब्जा बाँड्यो बुढीगण्डकी आयोजनाले

३२ अर्ब रुपैयाँ मुआब्जा बाँड्यो बुढीगण्डकी आयोजनाले

धादिङ – प्रस्तावित १२ सय मेगावाटको बहुचर्चित जलाशययुक्त बुढीगण्डकी आयोजनाबाट प्रभावित हुने स्थानीयका लागि अहिलेसम्म मुआब्जा वितरणमा अहिलेसम्म ३२ अर्ब २७ करोड रुपैयाँ खर्च भएको छ। 

धादिङ र गोरखा जिल्लाको सिमाना भएर बगेको बुढी गण्डकी नदीमा यो आयोजना निर्माण गर्ने तयारी हुँदैछ। आयोजनाबाट प्रभावित हुनेहरुलाई सरकारले सो रकम वितरण गरेको हो।  गोरखाको गण्डकी गाउँपालिकास्थित सिउरेनीटार रहेको आयोजना इकाई कार्यालयमार्फत प्रभावित क्षेत्र पहिचान, मुआब्जाका लागि निवेदन संकलन र मुआब्जा वितरण लगायतका कार्य गर्दै आइरहेको छ। 

Advertisement

आयोजना इकाई कार्यालयका प्रमुख इन्जिनियर रितेश रावलका अनुसार धादिङ जिल्लातर्फ २३ हजार ८२७ रोपनीको १५ अर्ब ७२ करोड र गोरखा तर्फको २३ हजार ६१३ रोपनीको १६ अर्ब ५१ करोड गरि ३२ अर्ब २७ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको हो।  धादिङ र गोरखाको प्रभावित क्षेत्रमा पर्ने थप घरगोठ लगायतका संरचनाहरु, बोटबिरुवा तथा फलफूलको तथ्याङ्क संकलनको कार्य भइरहेको छ भने फिल्डबुकमा कायम भएका, तर लालपुर्जा नभएका जग्गाहरूबारे नीतिगत निर्णय हुन बाँकी रहेको इन्जिनियर रावलले बताए। 

धादिङको खहरे, विशालनगर र गोरखाको आरुघाट र आरखेत बजार क्षेत्रमा प्राविधिक टोली खटाई घरगोठ लगायतका संरचनाहरु, बोटबिरुवा तथा फलफूलको तथ्याङ्क लिने काम यही भदौ मसान्तभित्र सक्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ।  आयोजना निर्माण गर्दा धादिङ र गोरखाका साविकका २७ गाविस प्रत्यक्ष रुपमा प्रभावित हुनेछन्‌।

नेपालको सबैभन्दा ठूलो जलाशययुक्त आयोजनाको रुपमा बुढीगण्डकी जलविद्युत आयोजनालाई लिइएको छ।