May 7, 2024, Tuesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निषेधाज्ञा तोड्ने २३६ जना प्रहरी नियन्त्रणमा

निषेधाज्ञा तोड्ने २३६ जना प्रहरी नियन्त्रणमा

भदाै ४, बुधबार रातिदेखि जारी गरिएको निषेधाज्ञा अवज्ञा गरी अनावश्यक रुपमा सडकमा निस्किने २ सय ३६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै ८० वटा दुईपांग्रे सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

बिना काम निषेधाज्ञा उल्लंघन गरी सडकमा निस्किएका सर्वसाधारणलाई प्रहरीले सडकमै उभ्याउने गरेका छन् । त्यस्तै दुईपांग्रे सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर त्यसमा सवार व्यक्तिलाई होल्ड गरिएको छ । 

Advertisement

महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार बिहीबार बिहान १० बजेसम्म विनाकाम सडकमा निस्किने २ सय ३६ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिइन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएपछि बिहीबार बिहानैदेखि प्रहरीले सडक तथा नाकाहरुमा कडा चेकजाँच गरेको थियो । त्यस्तै सहरबजारका मुख्य मुख्य चोकहरुमा समेत प्रहरी परिचालन गरी निषेधाज्ञा पालना गराइरहेका छन् । निषेधाज्ञामा अत्यावश्यक काममा बाहेक सर्वसाधारणलाई यताउता हिँडडुल गर्न बन्देज लगाइएको छ । त्यस्तै अत्यावश्यक काममा जाने भनी तोकिएका व्यक्तिहरुबाहेक अरु कसैले सवारीसाधन चलाउन पाइँदैन ।

यसरी कडा व्यवस्था गरिँदा पनि अनावश्यक रुपमा सडकमा आउनेलाई नियन्त्रणमा लिएर कारबाही गरिएको प्रहरी उपरीक्षक थापाले बताइन् । यसरी नियन्त्रणमा लिइएकाहरुलाई बिहीबार पहिलो दिन भएकाले दुई घन्टाभन्दा बढी नियन्त्रणमा राखी छोडिएको उनको भनाइ थियो ।‘बिहानैदेखि नियन्त्रणमा लिएर होल्ड गरिएकालाई बिहान १० बजेमात्रै छोडिएको छ’, प्रहरी उपरीक्षक थापाले भनिन्, ‘आज पहिलो दिन भएकाले सचेत गरेर छाडेका छौं । पछि नियन्त्रणमा लिएर जेलमै हाल्छौं ।’

प्रहरी र नगरपालिकाहरुले दुईतीन दिनदेखि निषेधाज्ञाबारे माइकिङ गरेर जानकारी दिँदा पनि अटेर गरेर सडकमा निस्कने क्रम रोकिएको छैन । उनले सर्वसाधारण अटेरी भएरै अनावश्यक रुपमा सडकमा निस्किएको दावी गरिन् ।‘निषेधाज्ञाबारे थाहै नभएको भएका १०/१५ जना सडकमा आउलान्’, उनले भनिन्, ‘यसरी सयौं मानिस सडकमा आउँदैनन् ।’ उनका अनुसार अत्यावश्यक काममा आएकालाई आवश्यक सोधपुछ गरेर छोडिएको छ ।