May 9, 2024, Thursday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बालिका बलात्कृत स्वास्थ्य अवस्था गम्भीर

बालिका बलात्कृत स्वास्थ्य अवस्था गम्भीर

भदाै ५, मोरङको रतुवामाई नगरपालिका–७ सिजुवामा बलात्कारबाट पीडित बनेकी एक बालिकाको स्वास्थ्य अवस्था गम्भीर भएको छ।  स्थानीय २० वर्षीय अभिषेक राजवंशीबाट बलात्कृत भएकी १४ वर्षीया बालिकाको अवस्था असामान्य बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। उनका अनुसार राजवंशीले रतुवामाई–७ मसानघाटमा लगेर बालिकालाई ललाईफकाई बुधबार साँझ बलात्कार गरेको खुलेको छ।

बलात्कार गरेपछि सुरु भएको बालिकाको रक्तश्राव नरोकिएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि घटना बाहिर आएको हो। अत्याधिक रक्तश्रावका कारण बालिका बेहोस बनेको जानकारी डीएसपी राईले दिए। ‘बलात्कारपछि पीडित बालिकालाई अत्याधिक रक्तश्राव भएछ। रक्तश्राव नरोकिएर अवस्था गम्भीर बन्दै गएकाले बालिका बेहोस भएको पाइयो,’ उनले भने, ‘त्यसपछि उपचार गराउने क्रममा घटना बाहिर आएको हो। अहिले बालिका उपचाररत छिन्।’

Advertisement

उनका अनुसार बलात्कारमा संलग्न राजवंशीले सुरुमा बेहोस अवस्थामै टेम्पोमा राखेर उपचारका लागि स्थानीय क्लिनिकमा पुर्‍याएका थिए। अवस्था थप गम्भीर बन्दै गएपछि त्यहाँबाट मोटरसाइकलमा राखेर थप उपचार गराउन उर्लाबारी पुर्‍याएको खुलेको डीएसपी राईको भनाइ छ। बालिका बलात्कारमा संलग्न राजवंशीलाई इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी नायव निरीक्षक मोती कटुवाल नेत्रृत्वको टोलीले पक्राउ गरेको छ।

बालिकाको अरनिको अस्पताल उर्लाबारीमा उपचार भइरहेको छ। उपचाररत उनलाई सामान्य अवस्थामा फर्कन समय लाग्ने जानकारी अस्पतालले दिएको प्रहरीको भनाइ छ। रक्तश्राव अत्याधिक भएका कारण बालिकालाई दुई पिन्ट रगतसमेत चढाउनु परेको उपचारमा संलग्न चिकित्सकलाई उद्रित गर्दै प्रहरीले जनाएको छ।

स्थानीय विद्यालयको कक्षा ७ मा अध्ययनरत बालिका कोरोना भाइरस संक्रमणका कारण गरिएको ‘लकडाउन’ले पढाई बन्द रहेका कारण झापास्थित मामा घर गएकी थिइन्। मावली घरमै रहेको अवस्थामा राजवंशीले फोन गरेर बोलाउँदै विभिन्न प्रलोभन देखाएर बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ।

कानुनले बालिकासँग सहमतिमै शारीरिक सम्पर्क भए पनि बलात्कार मानेको छ। राजवंशीले यसअघि पनि बालिकामाथि बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर कसैलाई पनि नसुनाउन विभिन्न दबाब दिएका कारण बालिकाले यसअघिको घटना बाहिर नल्याएको पाइएको डीएसपी राईको भनाइ छ। बलात्कारमा संलग्न राजवंशीविरुद्ध जवरजस्ती करणी मुद्दा चलाउन प्रहरीले शुक्रबार जिल्ला अदालत मोरङबाट म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ।