April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

भारतीय सीमावर्ती क्षेत्रमा समुदायस्तरमा फैलिँदै कोरोना

भाद्र ८, भारतसँग सीमाना जोडिएका नवलपरासी क्षेत्रका समुदायमा एक्कासी कोरोना संक्रमण फैलिन थालेको  छ । ४ दिनअघि मात्र पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ६ र ७ मा १८ जना समुदायस्तरका सर्वसाधारणमा कोरोना संक्रमण देखिएको थियो । उक्त वडा त्रिवेणी बजार क्षेत्रमा पर्दछ । बजार क्षेत्र भारतको उत्तर प्रदेशस्थित बिहार राज्यको भैंसालोटनसँग जोडिएको छ ।

त्रिवेणी बजार क्षेत्रका समुदायमा कोरोना देखिए लगत्तै पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्र पाल्हीनन्दन गाउँपालिकामा पनि आइतबार २६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाभर एकैदिन ३५ जनामा संक्रमण देखिएकोमा उक्त गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता र पाल्ही स्वास्थ्य केन्द्रकी १ नर्ससहित २६ जनामा संक्रमण देखिएको हो ।

Advertisement

उक्त पालिकाको वडा नं. ३ मा मात्र ३ वर्षीय बालकसहित १९ जनामा कोरोना संक्रमण देखिएको छ । अन्य ७ जना वडा नं. ४,५ र ६ का छन् । गाउँपालिका भारतको उत्तरप्रदेशस्थित ठूठीबारी र बर्गदवा बजारसँग जोडिएको छ । समुदायस्तरमा एक्कासी फैलिन थालेको कोरोना संक्रमण भारतबाट आउ–जाउ गर्नेबाट भएको बताइएको छ । 

पश्चिम नवलपरासीका चार गाउँपालिका भारतसँग सीमाना जोडिएको छ । दुई जिल्लाका सीमा क्षेत्रका पालिकाहरुमा एक्कासी कोरोना संक्रमण बढेको पाइएपछि अन्य गाउँपालिकामा पनि संक्रमणको खतरा बढेको पालिका प्रमुख र स्वास्थ्यकर्मीहरुको अनुमान छ । सीमावर्ती क्षेत्रका अन्य गाउँपालिकाबाट समेत स्वाब संकलन गरी पठाइएको छ । तर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख गौरब ढकालले बताए । जिल्लामा ५ सय १६ जनाको समुदायस्तरमा गरिएको परीक्षणमा ५१ जनाको रिपोर्ट पोजिटिभ आएको छ । अझ करिब ३ सयको आउन बाँक रहेको ढकालले जानकारी दिए ।

सीमा क्षेत्रका समुदायमा एक्कासी संक्रमण फैलिनुमा नेपाल–भारतको आवतजावत नै प्रमुख कारण भएको पूर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीको बुझाइ छ । मुख्य सीमा नाका पूर्णरुपमा बन्द भएपनि डुंगाबाट लुकीछिपी आउ–जाउ गर्ने गरेका कारण संक्रमण भारतबाट आएको हुन सक्ने जिसीले बताए । ‘नेपालबाट पेन्सन थाप्न जानेहरु लुकिछिपी भारतको भैंसालोटन पुगेर आउने गरेको पाइएको छ । त्यस्तै भारतबाट पनि डुंगाबाट मानिसहरु आउने गरेका छन् ,’त्यसले गर्दा समुदायमा संक्रमण फैलिएको हो,’ जिसीले भने ।

पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक संक्रमण फैलिनुमा लापरबाही तरिकाले नेपाल–भारत आउ–जाउ गर्नुको कारणलाई मान्दछन् । केही दिन यातायात खुला भएपछि दुई देशमा आउजाउ गर्ने क्रम लुकिछिपि बढेकोले सोही अनुरुप संक्रमण फैलिएको उनको बुझाई छ । ‘सीमा क्षेत्रका सर्वसाधारणमा घरायसी सामान किन्न भारतीय बजार नै जाने प्रचलन रहेछ । सीमाना खुला छैन । जिल्लाभित्रै आउ–जाउ खुकुलोको मौका छोपेर चोरी बाटो हुँदै भारतमा गएर किनमेल गर्दा जोखिम बढेको पाइयो,’ प्रजिअ पाठकले भने ।

स्वास्थ्य प्रमुख ढकालले पनि संक्रमण फैलिनुमा चोरीबाटो हुँदै भारतबाट आउ–जाउ प्रमुख कारण रहेको बताउँछन् । ‘पहिला संक्रमण फैलिनुमा भारतबाट आउ–जाउ होकी भन्ने अनुमान थियो । तर अहिले सीमा क्षेत्रमा एक्कासी बढेको पाइएपछि त्यसलाई पुष्टि गरेको छ,’ ढकालले भने । 

संक्रमणसँगै सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको गस्ती पनि बढेको छ । तर दुवै देशबाट अवैध रुपमा सामान ल्याउने क्रम बढेको छैन । अहिले पनि दिनहुँ जसो मटर, कुखुरा, कुखुराका चल्लालगायतका सामानको अवैध कारोबार हुँदै आएको छ । दैनिक रुपमा प्रहरीले त्यस्ता सामान बरामद गरेपनि उक्त कार्य भने रोकिएको छैन । यसले पनि संक्रमणलाई बढाएको आम बुझाइ छ । 

यसैबीच समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सबै स्थानीय तहहरुले पनि सेवा बन्द गरेका छन् । ७ स्थानीय तह रहेको जिल्लामा हालसम्म १ सय ७३ जना संक्रमित भएका छन् ।