May 7, 2024, Tuesday
२०८१ बैशाख २६, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अझै पत्ता लागेन पुजारी साहको हत्यारा

अझै पत्ता लागेन पुजारी साहको हत्यारा

भाद्र ८, राैतहट । प्रहरीले यहीँ रौतहटमा भदौ ३ गतेका दिन राति करिब सवा नौ बजे हत्या गरिएका हनुमान मन्दिरको पुजारी श्रीराम साहलाई हत्यारा अझैसम्म पनि पत्ता लगाउन सकेको छैन् ।

रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ खेसरहिया टोल निवासी ६५ वर्षिय पुजारी साहलाई अज्ञात समूहले खाना खादै गरेको अवस्थामा कन्चटमा गोली हानी हत्या गरेको थियो । कसैसँग कुनै दुश्मनी नभएका र सँधै समाजको हितको निम्तिमात्र कार्य गरेका सन्त जस्तो व्यक्तिको हत्या भएकोे हप्ता दिन पुग्नलाग्दा पनि पनि एकजना हत्यारा पनि पक्राउ नपरेको भन्दै स्थानियले आपत्ती जनाएका छन् ।

Advertisement

सार्वजनिक जग्गामा आफ्नै लगानीमा मन्दिर बनाएर सोही स्थानमा कुटी बनाएर बसिरहेका पुजारीको हत्या कसले कुन उद्धेश्यले गरेको हुनसक्ने भन्ने विषयमा सबैको चासो र जिज्ञासा रहेको छ ।

पुजारी साहको हत्या भए लगतै सो स्थानमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर अनुसन्धान सुरु गरेको थियो । रौतहट प्रहरीले प्रदेश प्रहरीको सहयोगमा तालिम प्राप्त कुकुरको मद्धतले पनि अनुसन्धान गरेपनि खासै ठोस सुराक पत्ता लगाउन सकेको छैन् । प्रहरीले अनुसन्धान जारी राखेको भएपनि आजसम्म हत्या कसले कुन उद्देश्यले गरेको हो भन्ने पत्ता लगाउन सकेको छैन ।

यसरी प्रहरीले हत्यारा पत्ता लगाउन नसक्दा स्थानियले प्रहरी आलोचना गर्न सुरु गरेका छन् । यो हत्याकाण्डको अहिले जिल्लामा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरेपनि हत्यारा को हो ? भन्ने बारे प्रहरी जवाफ दिने अवस्थामा रहेको छैन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले प्रहरीले सो हत्याको धेरै पक्षहरुबाट अनुसन्धान गरिरहेको बताउँदै चाँडैनै हत्यारा पक्राउ पर्ने दावी गर्नुभयो । प्रहरीले धेरैजनालाई शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेका भन्दै उहाँले अनुसन्धान प्रभावित हुनसक्ने भन्दै अहिलेनै थप जानकारी दिन नमिल्ने बताउनुभयो ।

देश विदेशमै चर्मामा रहेको यो हत्याकाण्डलाई सुल्झाउन सिङ्गो प्रहरी संगठनलाई दवाव सृजना भएको छ । धेरै क्षेत्र र व्यक्तिहरुबाट यस विषयमा प्रश्न उठाएपछि नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक मार्फत सो घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानको लागि रौतहट प्रहरीलाई संघिय प्रहरी इकाइ कार्यालय जनकपुर तथा प्रदेश नम्बर २ प्रहरी कार्यालयले सहयोग गरेको जनाएको छ । उसले सो पोष्ट मार्फत यो घटनालाई प्रहरी प्रधान कार्यालय अनुसन्धान अनुगमन गरिरहेको जानकारी दिएको छ ।

पुजारीको हत्यारालाई जतिसक्दो चाँडो पत्ता लगाएर कानुनको कठघरामा उभ्याउनुपर्ने स्थानीय युवा नितेश गुप्ता बताउँनुहुन्छ । उहाँले कसैसँग कुनै दुश्मनी नभएका र सँधै समाजको हितको निम्तिमात्र कार्य गरेका साँधुसन्तको हत्या गर्ने जो कोहीँलाई पनि पक्राउ गरेर कडा कारवाही हुनुपर्ने माग गरेका छन् ।

यता हिन्दू परिषद नेपाल रौतहट जिल्ला कार्य समिति र नेपाल बिश्व हिन्दु महासंघ रौतहटले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै पुजारी साहको हत्यारा चाँडोभन्दा चाँडो पत्ता लगाउनु पर्ने तथा उनलाई सहिद घोषणा गर्नुपर्ने माग पनि गरेका छन् । उनीहरुले प्रहरी हत्यारालाई चाँडै पक्राउ नगरे तथा पुजारी साहलाई सरकारले सहिद घोषणा नगरे कडा आन्दोलनमा उत्रने चेतावनी पनि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई दिएका छन् ।

पुजारी साह हत्याकाण्ड पनि अन्य नसुल्झिएका हत्याकाण्डजस्तै नसुल्झने हो कि भन्ने स्थानियले आशंका गरेका छन् । उनीहरुले नेपाल सरकार, प्रहरी प्रशासनले यसलाई उच्च प्राथमिकतामा राखेर छानविन गर्नुपर्ने माग गरेका छन् ।