May 5, 2024, Sunday
२०८१ बैशाख २३, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशियो

भाद्र ९, वीरगन्ज । कोरोना संक्रमण नियन्त्रणका लागि वीरगञ्जमा लागू गरिएको निषेधाज्ञाको कारण वीरगञ्जमा हरियो तरकारीको मूल्य आकाशिएको छ । हाल निषेधाज्ञाको समयमा तरकारीको मूल्य पहिलेको तुलनामा दोब्बर, तेब्बरसम्म बृद्धि भएको छ ।

परवल, बोडी, भिण्डी, लौका, घिरौला, झिंगनी, करेला, भन्टा, गोलभेडा, काक्रो, बन्दा, काउली, मुला, खुर्सानी, धनिया लगायतका हरियो तरकारीको मूल्य अहिले ह्वात्तै बढेको छ ।

Advertisement

लकडाउनको समयमा ग्रामीण भेगबाट शहर बजारसम्म तरकारी ल्याउन सम्भव नभएको कारण भारतबाट आयातित तरकारीको मूल्य तेब्बरसम्म बढाएर व्यापारीहरुले बेच्ने गरेका छन् ।

पर्सा जिल्लाको ग्रामीण भेगमा तरकारी उत्पादन भएपनि निषेधाज्ञाको कारण उक्त तरकारी सदरमुकामसम्म पुग्न नसकेको मौका छोप्दै व्यापारीहरुले अहिले हरियो तरकारीको मूल्यमा मनोमानी रुपमा वृद्धि गर्ने गरेका छन् ।

स्थानीय उत्पादनले धान्न नसक्दा वीरगन्ज बारा, लालबन्दी, मकवानपुरको हेटौडा, पालु, राजधानी तथा भारतको छपवादेखि कोलकात्तासम्मबाट समेत दैनिक हरियो तरकारी आयात हुने गरेको छ ।

प्रति केजी ६० रुपैयामा पाइने परवल अहिले मूल्य वृद्धि भएर प्रति केजी १६० रुपैयासम्म पुगेको छ । परवल लाबन्दी र भारतको कोलकत्ताबाट आयात हुन्छ । बोडी ६० र भिण्डी ४० रुपैया प्रतिकलोबाट वृद्धि भएर अहिले १२० रुपैयासम्म पुगेको छ ।

त्यस्तै, लौका र घिरौला ४० रुपैयाँबाट ८० रुपैयासम्म पुगेको छ । लौका पनि लाबन्दी र भारतको छपवाबाटै आयात हुने गरेको छ । यता घिरौला स्थानीय किसानले उत्पादन गर्ने गरेका छन् ।

यसैगरि झिगनी बाराको कलैया क्षेत्रबाट आयात हुन्छ । झिगनी ४० रुपैयाबाट अहिले प्रतिकेजी १२० रुपैयासम्म पुगेको छ । करेलाप्रति केजी ३५ बाट ७५ रुपैयासम्म पुगेको छ । काउली हाल पालुबाट आयात हुन्छ । काउलीको मूल्य अहिले वीरगन्ज बजारमा प्रति केजी १२० देखि १४० रुपैयासम्म पर्छ ।

यसैगरी गोलभेडा प्रति केजी ५० रुपैयाँबाट १८० रुपैयासम्म पुगेको छ । गोलभेडा हाल राजधानीबाट आयात हुन्छ । धनिया प्रति केजी १ सयबाट ३ सयमा पुगेको छ । खुर्सानी प्रतिकेजी ६० बाट १ सय २० रुपैयासम्म पुगेको छ ।