April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

परदेशमा रहेका पासाङ फेरि झुल्किए संगीतको बगैचामा

भाद्र १६, काठमाडाैं । अमेरिकाको न्युयोर्क निवासी गीतकार पासाङ शेर्पाको नयाँ गीत ‘सयौं डाँडा काट्दै आएँ’ सार्वजनिक भएको छ । परदेशिएकाहरुको व्यथा समेटिएको गीतमा ९ महिनासम्म विभिन्न मुलुक हिड्दै अमेरिकाजस्ता मुलुकहरुमा आउनेहरुको पीडालाई देखाउन खोजिएको छ ।

बिक्रम बरालको स्वरमा सुजज्जित गीतमा परदेशीको दुःखलाई उल्लेख गरिएको छ । हरि लम्सालको संगीत रहेको यो गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन् । रेकर्डिस्ट राजबाबु चौधरी र अजय कार्की हुन् । गीतमा मिक्सिङ र मास्टरिङ चन्द्र चौधरीले गरेका छिन् ।
गीतको भिडियोमा गौरव पहाडी र वर्षा राउतलाई देख्न सकिन्छ । परदेशीकै पीडा समेटिएको गौरव पहाडीले अभिनय गरेको गीत ‘सुन साईंली’ निकै चर्चित भएको थियो । उक्त गीतमा खाडी मुलुकमा जानेहरुको व्यथालाई समेट्न खोजिएको थियो भने यो गीतमा युरोप अमेरिकाजस्ता देशमा आउनेको व्यथा समेटिएको छ ।

Advertisement

गीतको निर्देशन निकेश खड्काले गरेका छन् भने गीतको अवधारणा र कथा गीतकार शेर्पाकै हो । भिडियो बुद्ध थापा र इश्वर थापाले खिचेका छन् । भिडियोमा ९ महिना हिडेर विदेश आएको, कागजपत्रका लागि दौडधुप गरेको लगायतका दृश्यहरु देखाइएको छ । भिडियो नेपाल र क्यानडामा छायांकन गरिएको छ ।

‘हामी खुशीका लागि विदेश भौतारिन्छौं । तर विदेशमा सुख मिल्ला तर खुशी आफ्नै देशमा मिल्छ । ढिंडो नै खाएपनि आफ्नै देशमा जस्तो खुशी विदेशमा हुँदैन । गीतमार्फत यो कुरा देखाउन खोजेको छु ।’ – गीतकार पासाङ शेर्पाले भने ।

गीतकार पासाङ शेर्पाको छैटौं गीत
यो गीत शेर्पाको रिलिज भइसकेको छैटौं गीत हो । तर उनका झण्डै आधादर्जन गीतहरु या त रेकर्ड भएर रिलिज गर्न बाँकी छन् या त रेकर्डका क्रममा छन् । उपयुक्त समय आएपछि रिलिज गर्दै जाने शेर्पाको योजना छ ।

‘सुरुमा त परम्परागत एल्बम निकाल्ने योजना थियो । तर अहिले डिजिटलको जमाना आइसकेकाले एल्बम पनि डिजिटलै हुन्छ होला ।

सन् २००४ को डिसेम्बरमा अमेरिका पुगेका शेर्पा अमेरिकाको ज्याकसन हाइटमा सैलुन तथा सौन्द्धर्यको व्यवसायी समेत हुन् । हिमालमा जन्मिएर तराई पनि उनी मानिसहरुको कपाल काट्ने काममा रमाउँदै आएका छन् । आफ्नो जातीय पेसा भन्दा फरक काम गरेर परदेशमा समेत धेरै नेपाललीहरुलाई रोजगारी दिन सफल शेर्पा सफल गीतकारको रुपमा समेत चिनिन्छन् । व्यवसायी तथा गीतकारको अलवा समाजसेवीको रुपमा पनि परिचित उनी प्रवासमा रहेका नेपालीलाई अप्ठ्यारो पर्दा दिल खोलेर सहयोग गर्दै आएका छन् ।

कोरोनाले स्वदेश तथा विदेशमा रहेका अप्ठारो परेका मानिसहरु धेरैलाई समेत शेर्पाले धेरैलाई सेवा तथा सहयोग गरेका छन् । सोलुखुम्बुको मुसेखर्कमा जन्मेका शेर्पा परदेशमा रहेपनि आफ्नो पहिचानलाई नेपाली मनैदेखि परिचित गराएका छन् । उनले यस गीतमा आफैले परदेशमा रहँदा भोगेको समस्यालाई समेत चित्रण गरेका छन् । प्रवासमा रहेर उनी आफैले पनि विभिन्न खाले संघर्षहरु गरे ।

सन् २०१२ मा उनले न्युयोर्कको ज्याक्सन हाइटमा पासाङ स्ट्राइकिङ स्टाइल खोले । अहिले उनी न्युयोर्कका चर्चित नेपाली हेयर स्टाइलिस्ट हुन् । उनको पासाङ स्ट्राइकिङ अहिले ब्राण्डको रुपमा स्थापित भएको छ ।

विगतका गीत पनि चर्चित
पासाङ शेर्पाले लेखेका ‘साँझ ढलेको थाहा पाइन’ र ‘नरोउ तिमी’ लगायतका गीतहरु निकै चर्चित छन् । नरोउ तिमी बोलको गीत युट्युबमामात्र ७ मिलियन भन्दा धेरैपटक हेरिएको थियो । नयाँ गीतबाट पनि आफू निकै आशावादी र उत्साहित भएको शेर्पा बताउँछन् । उनी भन्छन् – ‘आशा छ यो गीतलाई पनि दर्शकले रुचाउनुहुनेछ ।’