May 9, 2024, Thursday
२०८१ बैशाख २७, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे  मृत्यु

अपार्टमेन्टको आठौं तलाबाट खसेर नेपाली चिकित्सककाे मृत्यु

भदौ १८, भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत ३९ वर्षीय नेपाली चिकित्सक सुजितकुमार साहको मंगलबार एउटा अपार्टमेन्टको आठौं तलाबाट खसेर मृत्यु भएको छ । विराटनगर निवासी डा‍‍‍.साह ४ वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रूपमा कार्यरत थिए ।

डा.साह मंगलबार बिहान सेक्टर ४७ स्थित उनी बस्दै आएको अपार्टमेन्टको आठौं तलाको कौसीबाट खसेका थिए । गम्भीर घाइते उनलाई तत्कालै मेदान्त अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । पारिवारिक स्रोतका अनुसार प्रहरीले प्रारम्भिक छानबिनमा उनले आत्महत्या गरेको देखिएको जनाएको छ । यद्यपि शवको पोस्टमार्टम हुन बाँकी छ ।

Advertisement

डा.साह अपार्टमेन्टमा एक्लै बस्दै आएका थिए । उनको पश्चिम बंगालकी एक चिकित्सकसँग विवाह भएको थियो । उनीहरूबाट एक ६ वर्षीया छोरी छिन् । डा.साह सोमबार साँझसम्म मेदान्त अस्पतालमा ड्युटीमा थिए । सहकर्मीहरूका अनुसार त्यस दिन पनि उनी अन्य दिनजस्तै सामान्य अवस्थामा थिए । तर मंगलबार एकाएक साहले आफू बस्ने अपार्टमेन्टबाट हाम फालेको खबरले सबैलाई स्तब्ध बनाएको छ ।

मेदान्तमा डा.साहसँगै कार्यरत नेपाली चिकित्सक डा. सञ्जयकुमार यादवले घटनाबाट आफू स्तब्ध भएको बताए । ‘सुजित दाइसँग सोमबार दिनभर नै सँगै थियौं । अरू दिन जस्तै रमाइलोसँग समय बितेको थियो, खै के भयो अचानक विश्वास नै गर्न कठिन भइरहेको छ,’ डा।यादवले भने । पारिवारिक स्रोतका अनुसार पछिल्लो समय दुईबीच राम्रो सम्बन्ध नभएको र साहलाई श्रीमतीले छोडपत्रका लागि दबाब दिँदै आएकी थिइन् । त्यही दबाबले उनलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्‍याएको आशंका साह परिवारले गरेको छ । मृतक साहको परिवारले उनलाई आत्महत्या गर्न बाध्य पारिएको भन्दै छानबिनको माग गरेको छ ।

‘अघिल्लो दिनसम्म ड्युटीमा खटिएको र सबै हिसाबले सामान्य अवस्थामा रहेको व्यक्तिले कसरी आफैं आत्महत्या गर्न सक्छ, त्यसैले ऊमाथि अन्तिम समयमा ठूलो दबाब परेको निश्चित छ,’ साहका बुबा नरेन्द्रप्रसाद साहले भने । नरेन्द्रका अनुसार सुजितमाथि श्रीमतीले सम्बन्धविच्छेदका लागि दबाब दिइरहेकी थिइन् । तर सुजितले भने सानी छोरी पनि भएकी हुँदा छोडपत्र गर्न अस्वीकार गरिरहेका थिए । तर अन्तिम समयमा दबाब थेग्न नसकेर सुजित आत्महत्या गर्न बाध्य भएको परिवारको भनाइ छ । आत्महत्या गर्न बाध्य पारिएको भन्दै परिवारका तर्फबाट आत्महत्या दुरुत्साहनको मुद्दा दायर गर्ने तयारी गरिरहेको साहले बताए ।

साह परिवारका कान्छा छोरा सुजितले पोखराको मणिपाल कलेजबाट एमबीबीएस गरेका थिए । पछि भारतको चण्डीगढस्थित पीजीआईबाट मास्टर इन सर्जरी र पछि दिल्लीको एम्सबाट सर्जरीमा सुपर स्पेसलाइजेसन गरे । साहले छोटो समयमै लिभर ट्रान्सप्लान्ट ९कलेजो प्रत्यारोपण० का लागि कुशल चिकित्सकको परिचय बनाएका थिए । उनलाई रोबोटिक लिभर ट्रान्सप्लान्टको विशेषज्ञका रूपमा चिनिन्थ्यो । सहकर्मीबीच डा।साहको परिचय निकै मिलनसार र सरल व्यक्तिका रूपमा रहेको थियो । ‘४ वर्ष सँगै काम गरियो, कहिल्यै पनि उहाँको अनुहार अँध्यारो देखिएन, सबैलाई माया गर्ने अति नै सरल हुनुहुन्थ्यो,’ डा।यादवले बताए ।