April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
यस्ता लक्षण देखिएमा पनि हुनसक्छ कोरोना (एकपटक पढ्नै पर्ने)

यस्ता लक्षण देखिएमा पनि हुनसक्छ कोरोना (एकपटक पढ्नै पर्ने)

एजेन्सी- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको खास लक्षण ठ्याक्क यही हो भन्न सक्ने अवस्था छैन ।  मानिसमा अनेक लक्षणहरु देखापर्ने गरेको पाइन्छ । अधिकांश संक्रमितहरु त लक्षणविहीन नै छन् ।

यो अवस्थामा हालै बेलायतमा गरिएको एक अनुसन्धानले डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने निष्कर्ष निकालेको छ । विशेष गरी यी लक्षणहरु बालबालिकामा बढी देखिने अध्ययनले बताएको छ ।

Advertisement

क्विन्स युनिभर्सिटीको बेलफास्ट टिमले गरेको अनुसन्धानले बालबालिकालाई डायरिया हुने, उल्टी हुने र पेट बटारिने लक्षण देखिएमा कोरोना संक्रमण भएको हुनसक्ने बताएको हो ।

यस अनुसन्धानका लागि एक हजार बालबालिकालाई समावेश गरिएको बिबिसीले उल्लेख गरेको छ ।

मेडआरकाइभमा प्रकाशित यस अनुसन्धानका अनुसार ९९२ बालबालिका मध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । ६८ मध्ये १३ बालबालिकाले डायरीया, उल्टीम पेट दुख्ने सिकायत गरेका थिए ।

६८ मध्ये २१ बालबालिकामा ज्वरो आउने समान लक्षण पाइएको थियो । यस अध्ययनमा समावेश गरिएका बालबालिकालाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था भने नदेखिएको उल्लेख छ ।

यस अनुसन्धानको नेतृत्व गरेका अनुसन्धानकर्ता डाक्टर टम वाटरफिल्डले भने, ‘हामीलाई थाहा थियो, संक्रमित धरै जसो बालबालिकाको अवस्था राम्रो नै थियो । तर हामीलाई थाहा छैन यी संक्रमित बच्चाबाट कति धेरै संक्रमण फैलियो ।’

उनले संक्रमित केहि बच्चामा डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएकाले यसलाई कोरोनाको लक्षणमा समावेश गर्न पर्याप्त भएको बताए ।

बेलायतको स्वास्थ्य मन्त्रालयले यस अनुसन्धानको सुझावलाई अध्ययन गरिरहेको र कोरोनाको लक्षणमा समावेश गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

अहिले बेलायतमा मुख्यरुपमा खोकी, ज्वरो, गन्ध वा स्वाद थाहा नपाउनेलाई कोरोनाको लक्षणको रुपमा मानिदै आएको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले यस अघि नै यस किसिमको लक्षणलाई कोरोनाको लक्षणमा समावेश गरिसकेको छ । स्रोत- बीबीसी