April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चिया बुझ्न आएनन् विदेशी, मर्कामा परे किसान

चिया बुझ्न आएनन् विदेशी, मर्कामा परे किसान

इलाम – विगतका वर्षमा चियाको ‘फस्ट फ्लस’ सिजन (चैत–वैशाख) देखि नै चिया हेर्न र बुझ्न विदेशी आउँथे । उद्योग÷कारखानाको अनुगमन गर्दै किसानसँग भलाकुसारी गरेर चिया बोकेर फर्कन्थे । कतिपयले त बगान र उद्योगमा पुगेर चियाको काम पनि गर्थे ।

प्रायः चैतदेखि दसैँअघिको समयसम्म चियाका लागि बढी विदेशी आउने सिजन हो तर यसपटक कोरोना महामारीले चियाका लागि आउने विदेशी (खरिदकर्ता)को सङ्ख्या शून्य छ । यसले चिया उद्योग र बगानमा चिया खरिदकर्ताको चाप कम भएको भने चिया बिक्री पनि अत्यन्तै कम भइरहेको छ ।

Advertisement

कोरोनाकै कारण यसपटक विदेशी खरीदकर्ता चाहेर पनि नेपाल आउन नसकेको इलाम नगरपालिकास्थित ग्रीन हिल अर्थोडक्स चिया उद्योग साँखेजुङका सञ्चालक टङ्क दाहाल बताउनुहुन्छ । दाहालका अनुसार गएको पाँच वर्षदेखि लगातार उद्योगमा विदेशी ग्राहक आउने गरेका थिए तर यसपटक भने एकजना पनि आउन सकेका छैनन् । “धेरैले फोनमार्फत आउन सकिन है भन्नुहुन्छ”, दाहालले भन्नुभयो, “धेरैको चासो पनि छ तर आउन नपाएकोमा गुनासो पनि छ ।”

जापान, अमेरिका, जर्मनी, चीन, फ्रान्सका साथै भारतमा समेत आफ्नो उद्योगको चिया निर्यात हुने गरेको सञ्चालक दाहालको भनाइ छ । गएको वर्ष मात्र पनि उद्योगमा दुई झुण्डमा विदेशी आएका थिए । चियाको मुख्य सिजन (चैत–वैशाख)मै उद्योगले बन्दाबन्दी खेप्नु पर्यो । उद्योगीले यही सिजनमा अधिकतम फाइदा लिन सक्नुपर्छ तर यसपटक भने कोरोनाले विदेशमा चिया जान सकेन । बन्दाबन्दी सकिए पनि कोरोनाको प्रकोप बढ्दा धेरै उद्योगीले घाटासमेत खेप्नु पर्यो । विशेषगरी सिधै तेस्रो मुलुक तयारी चिया पठाउने उद्योगीलाई त कोरोनाले नमज्जैले ‘घाटा’ गरायो ।

यसैकारण बर्सेनि तेस्रो मुलुकबाट चियाको अनुगमन र चिया बुझ्न आउने विदेशी एकै जना नआएको इलाम नगरपालिकास्थित जस्वीरे चिया उद्योगका सञ्चालक सरद सुब्बा बताउनुहुन्छ ।