April 27, 2024, Saturday
२०८१ बैशाख १६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कोरोना संक्रमित मुक्त बैतडीका पाँच स्थानीय तह

कोरोना संक्रमित मुक्त बैतडीका पाँच स्थानीय तह

बैतडी – बैतडीका ५ स्थानीय तह हाललाई कोरोना संक्रमित मुक्त भएका छन्। जिल्लाका दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका, शिवनाथ गाउँपालिका, सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा हाल कुनै पनि कोरोनाका सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालय बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। उनले भने‘सक्रिय संक्रमित नरहेकाले हाललाई यी स्थानीय तह संक्रमित मुक्त भएका हुन्, तर समुदायका सबैको परीक्षण नगरिएकाले संक्रमणमुक्त भन्न सकिने अवस्था छैन।’ जिल्लाका अन्य ५ स्थानीय तहमा १६ जना सक्रिय संक्रमित रहेका छन्।

सबैभन्दा बढी सिगास गाउँपालिकामा १० जना सक्रिय संक्रमित रहेका जनाइएको छ। यस्तै, मेलौली नगरपालिका र पाटन नगरपालिकामा २/२ जना, पुर्चौडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा १/१ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। सक्रिय संक्रमित, क्वारेन्टाइनमा नरहेका तथा यसअघि संक्रमित रहेका २ जना र संक्रमितको सम्पर्कमा रहेका सबैको रिपोर्ट नेगेटिभ आएको दोगडाकेदार गाउँपालिकास्थित स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट जनक कलौनीले जानकारी दिए।

Advertisement

उनले भने, ‘हाललाई कोही पनि संक्रमण भएका व्यक्ती सक्रिय छैनन्, त्यसैले संक्रमित मुक्त गाउँपालिका भयो।’ जिल्लामा हालसम्म ३७५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।