April 28, 2024, Sunday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आज १०७ औँ विपी जयन्ती मनाइँदै

आज १०७ औँ विपी जयन्ती मनाइँदै

भाद्र २४, काठमाडाैं । नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउनु भएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको थियो ।

कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्य र राजनीतिमा व्यवहारवादी  हुनुहुन्थ्याे । राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने २००७ सालको क्रान्तिको नेतृत्व गर्नुभएका कोइराला २०१५ सालमा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बन्नुभएकाे थियाे ।

Advertisement

कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उहाँले जेल जीवन बिताउनुभएकाे थियाे । उहाँका पिता कृष्णप्रसाद कोइरालाले जहानियाँ राणा शासनको विरोध गरेपछि कोइराला परिवार भारत निर्वासनमा जानु परेको थियो ।

भारत निर्वासनकै क्रममा उहाँको नेतृत्वमा विक्रम संवत २००३ मा नेपाली राष्ट्रिय काँग्रेसको स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र काँग्रेसका बीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो ।

२०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उनी स्वदेश फर्किनुभएका उहाँको क्यान्सर रोगबाट विसं २०३९ साउन ६ गते निधन भएको थियो ।

स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित हुनुहुन्छ । कोइरालाका आत्मकथा, जेल जर्नल, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाई लगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् ।