April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

रोग लुकाउन खोज्दा बढ्यो मृत्युदर

चितवन– रत्ननगरका ४६ वर्षीय पुरुषको बिहीबार राति भरतपुर अस्पतालको आकस्मिक कक्षमा पुग्न नपाउँदै मृत्यु भयो। राप्ती नगरपालिका–४ का १८ वर्षीया युवतीको शुक्रबार बिहान अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो। सोही अस्पतालमा विगत पाँच दिनमा थप तीन जनाको यसरी नै मृत्यु भएको छ।  

सबैको लक्षण उच्च ज्वरो, रुघाखोकी नै देखिने गरेको छ। बिहीबार र शुक्रबार मृत्यु भएकामध्ये रत्ननगरका पुरुषको कोरोना पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल दैनिक एक/दुईवटा यस्ता बिरामी आउने गरेको बताउँछन्। बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा उपचार गर्न कठिन हुने गरेको उनको भनाइ छ।

Advertisement

अस्पतालको अकस्मिक कक्षका विभागीय प्रमुख डा जगन्नाथ तिवारी अन्तिम समयमा अस्पताल ल्याउँदा मृत्यु बढेको बताउँछन्। उनी भन्छन्, ‘बिरामी अस्पताल आउँदा रक्तचाप र अक्सिजनको मात्रा कम भएर आउँछन्। केही गर्न नपाउँदै मृत्यु हुन्छ।’ कतिपयको बाटोमै र कतिपयको उपचार शुरु गर्न नपाउँदै मृत्यु हुने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘श्वास लिन गाह्रो भयो भन्दाभन्दै बिरामीको मृत्यु हुने गरेको छ।’ 

अस्पतालमा सघन उपचार कक्षको शैय्या अभावको कारणले पनि बिरामीहरुको उपचार गर्न कठिन भएको विभागीय प्रमुख डा तिवारीको भनाइ छ। समुदायमा कोरोना फैलिएसँगै यसरी बिरामी आउने क्रम बढेको हो। उनका अनुसार बिरामीले सहनसक्ने अवस्थासम्म घरमा नै बस्ने र अति कठिन भएपछि मात्रै अस्पताल आउने भएका कारण उपचार असम्भव हुने गरेको छ। 

अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि यहाँका स्थानीयबासी अस्पताल जान नै डराउने गरेका छन्। सामान्य रोग लागेका बिरामीहरु अस्पतालमा जाने गरेका छैनन्। कतिपयले सामान्य भन्दै घरमा बस्दा पछि जटिल समस्या आउने गरेको छ। कतिपयलाई कोरोनाको लक्षण देखिए पनि समाजको डर र अस्पताल गए पनि केही हुँदैन भन्ने भ्रमका कारण घरमै बस्दा पछि समस्या जटिल बन्ने गरेको पाइएको छ। 

भरतपुर अस्पतालका कोभिड क्लिनिकल टिमका संयोजक डा प्रमोद पौडेल जटिल भएपछि मात्रै अस्पताल आउने क्रम बढ्दा समस्या भएको बताउँछन्। उनी भन्छन्, ‘सिटामोलले एक/दुई दिनमा ठीक नभएमा ज्वरोका बिरामी अस्पताल आउनुपर्छ।’ मानिसहरुलाई समस्या भएजस्तो नदेखिने तर अकस्मात श्वास फेर्न गाह्रो भएर मृत्यु हुने गरेको उनको भनाइ छ। रुघाखोकी, ज्वरो, दम भएका बिरामीले नियमित रुपमा अक्सिजनको मात्रा हेर्नुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘ज्वरो आएपछि अस्पताल जाँदा कोरोना भन्छन् कि भन्ने डरले घरमै रोग पालेर बस्ने क्रम बढी छ।’ 

चितवन मेडिकल कलेजका निर्देशक डा दयाराम लम्साल अन्तिम अवस्थामा उपचारका लागि आउने क्रम बढेको बताउँछन्। समयमा उपचार गर्न नआउँदा समस्या हुने गरेको उनको भनाइ छ। उनी भन्छन्, ‘सकेसम्म घरमा नै उपचार गर्न चाहने बढी छन्। जसले गर्दा जटिल भएपछि मात्रै अस्पताल आउने गरेका छन्।’ सामान्य अवस्थाबाहेक समस्या देखिएमा अस्पताल आउन उनको सुझाव छ। 

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारी अन्तिम अवस्थामा अस्पताल आइपुग्दा बिरामीको मृत्यु बढेको बताउँछन्। रुघाखोकी र सयभन्दा बढी ज्वरो आएमा अस्पताल जान उनको सुझाव छ। उनी भन्छन्, ‘कोरोना भएमा अरूले के भन्लान् भनेर पनि अस्पताल आउन डराएको अवस्था छ।’ अस्पतालहरुले सकेसम्म सुरक्षाको मापदण्ड अपनाएर उपचार गरिरहेकाले रोग पालेर घरमा नबस्न उनी आग्रह गर्छन्।

कतिपय बाटोमै मृत्यु हुनेहरुको कोरोना परीक्षणसमेत नगरी परिवारले शवको व्यवस्थापन गर्ने गरेका छन्। अस्पतालमा आइपुगेर मृत्यु भएकाको भने स्वाब परीक्षण गर्ने गरिएको छ। यसरी मृत्यु भएका कतिपयको परिवारले अस्पतालबाट स्वाब परीक्षण नगरी शव घर लैजाने गरेका छन्। यही भदौ १४ गते यस्तै प्रकृतिका तीन जनाको भरतपुर अस्पतालमा मृत्यु भएको थियो। उनीहरु तीनै जनाको कोरोना पोजिटिभ देखिएको थियो। 

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले घरमा रोग पालेर नबस्न सबैमा आग्रह गरेका छन्।rss