April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
राजेश हमालले गरे फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग

राजेश हमालले गरे फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग

आश्विन ४, काठमाडौं । अभिनेता राजेश हमालले फिल्म क्षेत्रका १ सय १३ प्राविधिकलाई आर्थिक सहयोग गरेका छन् । उनले हरेक प्राविधिकलाई जनही पाँच हजारका दरले ५ लाख ६५ हजार आर्थिक सहयोग गरेको चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामाले बताए  । 

‘अहिले फिल्मको काम ठप्प छ । यस्तो अभावमा उहाँको सहयोगले प्राविधिक खुशी भएका छन्,’ उनले भने । प्राविधिक संघले काठमाडौंमा आयोजित गरेको कार्यक्रममा उक्त सहयोग रकम वितरण गरिएको थियो । कार्यक्रममा हमालले आफ्ना हितैषी मित्रहरुसँग सहयोग रकम उठाएर आर्थिक सहयोग गरेको बताए । ‘कोभिड-१९ को परिस्थितिमा प्राविधिक समस्यामा परेको छ भनेर सहयोगको समूह बनाएँ । त्यसमा मेरो नजिकको हितैषीहरुलाई समावेश गरेको हो,’ कार्यक्रममा उनले भने ।

Advertisement

यसबीच आर्थिक चपेटामा परेका प्राविधिकलाई कलाकारहरु पल शाह (५ लाख २ हजार), वर्षा राउत (५१ हजार), नीता ढुङ्गाना (३० हजार), ज्योत्सना फूयाँलले (२५ हजार), गरिमा पन्त (३४ हजार), निर्देशक नरेश पौडेल (२५ हजार)ले आर्थिक रकम बराबरको खाद्यान्न सहयोग गरेको पनि प्राविधिक संघले जनाएको छ । कतिले राहत वितरणमा हमालको सहभागिता नदेखिएको भन्दै टिप्पणी पनि गरेका थिए ।

तर, शनिबार सहयोग रकम वितरण गर्दा उनले भने, ‘हिन्दीमा एउटा कथन छ । देर आए दुरुस्त आए । यो कोभिड -१९ को परिस्थिति कहाँसम्म जाने हो भन्ने कुराको टुङ्गो छैन । सहयोगी हातहरु आइरहनुपर्छ । कहिले आउने, कुनबेला आउने भन्नेले माने राख्दैन । किनकि कोभिड-१९ कहिलेसम्म हामीबीच रहिरहन्छ भन्ने टुङ्गो छैन । असहाय दिदीबहिनी दाजूभाईहरुलाई सक्नेले केही न केही सहयोग गर्नुपर्छ ।’

कोभिड-१९ ले मनोरञ्‍जन क्षेत्रमा असर पारेको पनि उनले बताए । ‘कोभिड-१९ एउटा असामान्य परिस्थिति हो । यस्तो गतिविधि जिउने क्रममा आउँदो रहेछ । त्यसबाट हामी हतोत्साहित हुनुहुन्न,’ उनले भने ।