२५ दिनसम्म पनि भएन महेन्द्र रामको अन्त्येष्टि
सर्लाही – कुटपिटबाट मृत्यु भएका सर्लाही रामनगर गाउँपालिका–७, सिसौटका ६५ वर्षीय महेन्द्र रामको २५ दिन बितिसक्दा पनि दाहसंस्कार हुन सकेको छैन।
गत असोज २१ गते छिमेकीको कुटाइबाट गम्भीर घाइते भएका रामको उपचार क्रममा गत असोज २२ गते वीरगन्जस्थित नेपाल इण्डो अस्पतालमा मृत्यु भएको थियो।
रामको मृत्युको घटनाले राजनीतिक रुप लिँदा २५ औं दिन भइसक्दा पनि अन्त्येष्टि हुन सकेको छैन। नेपाली कांग्रेस सर्लाहीले आफ्ना कार्यकर्ता रामको हत्यामा नेकपाका नेताको संलग्नता रहेको आरोप लगाउँदै आएको छ। कुटपिटमा संलग्नलाई कानुनी दायरामा ल्याउन माग गर्दा स्थानीय प्रशासनले बेवास्ता गरेको कांग्रेसको भनाइ छ।
सत्ताधारी दल नेकपाका नेताहरुको इसारामा प्रहरीले मृतक राममाथि कुटपिट गर्नेविरुद्ध जाहेरी दर्ता गर्न आनाकानी गरेको प्रदेश सांसद वीरेन्द्रप्रसाद सिंहले आरोप लगाए। उनका अनुसार किटानी जाहेरी र घटनामा संलग्नलाई कार्बाही नभएसम्म शव नबुझ्ने उनीहरुको अडान छ। रामको शव अहिले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमै अलपत्र छ।
परिवारले शव घर ल्याउँदै गर्दा प्रहरीले खोसेर लगेको सर्लाही कांग्रेस क्षेत्र नम्बर ४ को आरोप छ। असोज २८ गते किटानी जाहेरी दिन गएका कांग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच झडप हुँदा मृतकका भाइ, श्रीमती एवं आधा दर्जन महिलासहित तीन दर्जन नेता कार्यकर्ता र नेपाल प्रहरीका दुई जना डिएसपीसहित २२ र सशस्त्र प्रहरीका १० जना सुरक्षाकर्मी सामान्य घाइते भएका थिए।
पीडकलाई कारबाही गर्नुका सट्टा प्रहरीले पीडितमाथि दमन गरेको उनीहरुको भनाइ छ।
यता प्रहरीले भने घटनामा संलग्न तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ। व्यक्तिगत रिसिइबीका कारण पीडित परिवारले किटानी जाहेरी दिएको प्रहरीको आरोप छ।
घटनामा संलग्न थप फरार अभियुक्त खोज्ने काम भइरहेको सर्लाही प्रहरी प्रमुख सन्तोष सिंह राठोरले जानकारी दिए।



प्रतिकृया दिनुहोस्