April 26, 2024, Friday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाण्डौमा न्यूनतम तापक्रम बढ्दा अधिकतम तापक्रम घट्यो

काठमाण्डौमा न्यूनतम तापक्रम बढ्दा अधिकतम तापक्रम घट्यो

काठमाण्डौ – मौसम राम्ररी नखुलेका कारण काठमाण्डौको न्यूनतम तापक्रम बढेको छ।

आज काठमाण्डौको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री पुगेको छ । गएको १४ गते काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियसमा झरेको थियो । रातिको समयमा बादल लागेकाले न्यूनतम तापक्रम बढेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । न्यूनतम तापक्रम बढे पनि अधिकतम तापक्रम भने घटेको छ ।

Advertisement

काठमाण्डौको अधिकतम तापक्रम आज १८ देखि २० डिग्री सेल्सियस पुग्ने अनुमान छ । यसअघि अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियस हुन्थ्यो । अधिकतम तापक्रम घट्दा दिनभरिकै तापक्रम एकैनासको हुने भएकाले चिसो बढी हुने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार बादल नलागेको दिन बिहान बेलुका चिसो भए पनि दिउँसोको समयमा तातो हुन्छ । तर, बादल लागे दिनभरि पनि चिसो हुने हुँदा यसले स्वास्थ्यमा असर पर्न सक्छ।

विशेषगरी तराईका जिल्लामा बादल लागेको दिन बढी सावधानी अपनाउन पर्ने मौसमविद्को भनाइ छ । मौसम बद्ली भएको दिन घाम नलाग्ने र चिसो हावा चल्ने भएकाले कठ्याङ्ग्रिएर ज्यान जाने जोखिम धेरै हुने मौसमविद्ले बताएका छन् ।

यस्तो बेला शरीरलाई तातो बनाउन तात्तातो झोल खानेकुरा र न्यानो कपडा लगाउन विज्ञको सुझाव छ । अहिले तराईका जिल्लामा हुस्सु र कुहिरो छ । आज प्रदेश १ मा हल्का पानी पर्न सक्ने मौसमविद्को अनुमान छ ।