February 13, 2025, Thursday
२०८१ फाल्गुन २, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली युवा इञ्जिनियरको अन्तरिक्ष केन्द्र डिजाइनलाई अन्तर्राष्ट्रिय पुरस्कार

नेपाली युवा इञ्जिनियरको अन्तरिक्ष केन्द्र डिजाइनलाई अन्तर्राष्ट्रिय पुरस्कार

१२ डिसेम्बर, लन्डन(यूके) ÷ यूकेमा रहेका एक नेपाली युवा इञ्जिनियरले बनाएको अन्तरिक्ष केन्द्र निर्माणको नमुना डिजाइनले अन्तर्राष्ट्रिय पुरस्कार हात पारेको छ । विश्वभरका प्रतिष्पर्धीहरूलाई उछिन्दै अजेन लिम्बुले नेतृत्व गरेको समूहले युवा स्ट्रक्चरल इञ्जिनियर्स अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिता जितेको हो ।

बेलायतको प्लाइमाउथ विश्वविद्यालयमा सिभिल इञ्जिनियरिङको मास्टर्स तहको अन्तिम वर्षमा अध्ययनरत हुँदा २५ वर्षीय अजेन लिम्बु र उनको समूहले बनाएको डिजाइन उत्कृष्ट भएको विश्वविद्यालयले आफ्नो वेभसाइटमार्फत जनाएको छ ।

Advertisement

पुरस्कार विजेता अजेनलाई उनको विश्व विद्यालयले शून्य गुरुत्वाकर्षणको उपस्थितिमा सौर्यमण्डलको ग्रहहरूको अन्वेषण गर्न सहज हुने गरी अन्तरिक्ष केन्द्र निर्माणका लागि संरचनाको नमुना तयार गर्न भनिएको थियो । सोही बमोजिम उनले प्लाइमाउथ युनिभर्सिटीका अन्य दुई विद्यार्थीहरूसित मिलेर नासा र जापानिज एरोस्पेस एक्स्प्लोरेसन एजेन्सीको सामग्री प्रयोग गरेर वायुयाणको निर्माणमा विस्तृत खोज गरेका हुन् ।

नेपालको धरानमा घर भएका अजेन आफ्ना पूर्व ब्रिटिस गोर्खा सैनिक बुवा तेज कुमार थक्लुङ लिम्बु र आमा कमला सेन्दाङ लिम्बुसँगै पाँच वर्षको उमेर हुँदा बेलायत आएका थिए । धरानकै अरनिको स्कूलमा प्राथमिक तहमा पढेका उनले त्यसपछि बेलायतमै उच्च तहसम्मको अध्ययन पूरा गरेका थिए ।

‘यो प्रतियोगिताले अन्तरिक्ष इञ्जिनियरिङको अद्भूत रहस्य नजिक पुग्न एकदमै उत्साहजनक अवसर दिएको छ,’ पुरस्कार जितेपछि लिम्बुले प्रतिक्रिया दिँदै भने ।

छात्रवृत्ति पाएर इञ्जिनियरिङ अध्ययन गरेका अजेन अहिले एक प्रतिष्ठित संस्थामा कार्यरत छन् । दुई छोराहरूमध्ये आफ्नो कान्छा छोरा अजेनको उपलब्धिमा हौँसिदै नर्सिङ पेशामा आबद्ध आमा कमला सेन्दाङले भूपू सैनिक परिवारका सन्तानहरूले पछिल्लो समय शैक्षिक क्षेत्रमा लोभलाग्दो प्रगति गरिरहेको बताइन् । सामाजिक सेवाका काममा पनि सक्रिय उनले अजेनको उपलब्धि नेपाली समुदायमा दुर्लभ भएको टिप्पणी गरिन् । भूतपूर्व ब्रिटिस गोर्खा सैनिक र तिनका सन्तानहरूले सन् २००९ मा आवासीय भिषाको अधिकार पाएपछि बेलायतमा नेपाली समुदायको आगमन तीव्र बनेको हो । यहाँ आएसँगै दोस्रो पुस्ताका सन्ततिहरूले उच्च शिक्षा हासिल गरेर विभिन्न क्षेत्रहरूमा आफ्नो प्रभाव कायम गरिरहेका छन् ।