May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गोही प्रजनन केन्द्रमा भालेको अभाव

गोही प्रजनन केन्द्रमा भालेको अभाव

चितवन – चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा भालेको अभाव भएको छ ।

त्यहाँ रहेको एउटा भालेले प्रजननमा काम गर्न छाडेपछि अभाव भएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार भालेले काम नगरेपछि गत वर्ष त्यहाँका ११ वटा पोथीले पारेका ३०० हाराहारी अण्डा खेर गएका छन् । चैत महिनापछि गोहीले अण्डा पार्दछन् । हाल रहेको भाले ४२ वर्ष उमेरको छ । अन्तर्राष्ट्रिय अनुसन्धानमा भालेले ५० वर्षसम्म प्रजनन गर्नसक्ने भनिए पनि यहाँको भालेले काम नगरेको खड्काको भनाइ छ ।

Advertisement

गोहीको उमेर मानिस सरह हुने बताइन्छ । खड्काले भन्नुभयो “पछिल्ला वर्षहरुमा अण्डाबाट बच्चा कोरिलने क्रम घट्दै थियो । गत वर्ष त शून्य भयो ।” यस वर्ष समयमै भाले ल्याउन नसके प्रजनन केन्द्रमा पारेका अण्डा खेर जानेछ । उक्त भालेको वीर्यमा समस्या भएको हुनसक्ने बताउँदै खड्काले नेपालमा यससम्बन्धी परीक्षण गर्न चिकित्सक नभएको बताउनुभयो । निकुञ्जले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा गएको साउनमै यस समस्याका बारेमा पत्राचार गरिसकेको छ । विभागले गृहकार्य थालेको भए पनि सम्भव हुन सकेको छैन । विभागका सूचना अधिकारी हरिभद्र आचार्यले बर्दियाबाट भाले ल्याउन गृहकार्य गरिएको भए पनि त्यहाँ नै सङ्ख्या कम भएपछि ल्याउन नसकिएको बताउनुभयो ।

तत्काल भारतबाट पनि ल्याउन सम्भव नरहेको भन्दै उहाँले समस्याको समाधान खोज्ने भन्ने विषयमा विभागले आवश्यक गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तत्काल भाले ल्याउन गाह्रो छ ।” गोही प्रजननमा न्यून मात्रै भाले जन्मने गर्दछन् । निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा भालेको सङ्ख्या कम भएपछि तीन वर्ष अघि बर्दियाबाट एउटा भाले ल्याइएको थियो । हाल ती दुई नदीमा पाँच वटा भाले देखिएका छन् । सहायक संरक्षण अधिकृत खड्काले अर्काे एक भाले पनि रहेको हुनसक्ने अनुमान गरिएको बताउनुभयो ।

बर्दियाको बबईबाट ल्याइएको भाले हाल निकुञ्जको त्रिवेणी आसपासमा देखिने गरेको छ । भाले लाग्ने बेलामा पानीभित्र पोथीसँग समागम गर्ने गर्दछ । प्रजननका लागि योग्य भएका पोथी घडियाल भालेसँगै राखिने गरिएको छ । यहाँ उत्पादन गरिएको घडियाल गोही चितवनको नारायणी, राप्ती, कर्णालीलगायतका नदीमा छाडिँदै आएको छ ।

अहिले यस प्रजनन केन्द्रमा ६५६ वटा घडियाल गोही रहेका छन् ।