April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कृषिउपजको चौमासिक निकासी विवरण सुधारोन्मुख

कृषिउपजको चौमासिक निकासी विवरण सुधारोन्मुख

इलाम – आर्थिक वर्ष २०७७/७८ (साउन–कात्तिक)मा कृषिजन्य पदार्थको निकासी सुधारोन्मुख देखिएको छ ।

नेपालबाट निकासी हुने चिया, अलैँची र अदुवाको स्थिति गएका वर्षमा भन्दा सुधारिएको देखिएको हो । विदेश निर्यात हुने सामग्रीमध्ये यस वर्ष चिया चौथो धेरै निकासी हुने सामग्री देखिएको छ भने अलैँची साताँै र अदुवा २० औँ स्थानमा परेको छ । विदेश निकासी हुने प्रमुख वस्तु पाम तेल १०० प्रतिशत घट्नाले पनि कृषिजन्य वस्तुको निकासी बढी देखिएको हो ।

Advertisement

विगतका वर्षमा पाम तेलले निकासीमध्ये पहिलो वा दोस्रो स्थान ओगट्थ्यो । व्यापार तथा निकासी प्रवद्र्धन बोर्डको तथ्याङ्कअनुसार जम्मा निकासी हुने वस्तुमध्ये चियाले पाँच दशमलव आठ प्रतिशत, अलैँचीले पाँच दशमलव एक प्रतिशत र अदुवाले शून्य दशमलव पाँच प्रतिशत ओगटेको देखिन्छ । विगतका चार महिनामा ७४ लाख १० हजार ३८६ किलोग्राम चिया निर्यात हुँदा रु दुई अर्ब ३३ करोड चार लाख ४७ हजार आम्दानी भएको छ ।

यस्तै यस वर्ष अलैँची २५ लाख ६२ हजार २४ किलोग्राम निर्यात हुँदा रु दुई अर्ब तीन करोड ४५ लाख २५ हजार बराबरको आय भित्रिएको देखिन्छ । बोर्डको तथ्याङ्कअनुसार यस अवधिमा ३९ लाख ५० हजार ७०० किलोग्राम अदुवा नेपालबाट निर्यात भएको छ । यस वर्ष अदुवाबाट रु २१ करोड ९९ लाख ४९ हजार आर्जन भएको देखिन्छ । गत वर्षको तुलनामा यो चार महिनामा चियामा ९९ दशमलव चार प्रतिशत, अलैँची ३२ दशमलव एक प्रतिशत र अदुवा ३१ दशमलव नौ प्रतिशत सुधार आएको छ ।

कोरोना महामारीमा पनि कृषिजन्य पदार्थको निकासी उल्लेख्य रहेको देखिन्छ । गत वर्षमा चार महिना (साउन–कात्तिक)मा चिया ४४ लाख ६ हजार ९८५ किलोग्राम, अलैँची १९ लाख १३ हजार ५५७ किलोग्राम र अदुवा ३४ लाख ८२ हजार ५०५ किलोग्राम निकासी भएको थियो ।