July 27, 2024, Saturday
२०८१ श्रावण १२, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
क्यान्सरपीडित नेपालीलाई आमा समूहको सहयोग

क्यान्सरपीडित नेपालीलाई आमा समूहको सहयोग

गण्डकी – घाँटीको क्यान्सरबाट पीडित शङ्कर नेपालीलाई शुभकामना आमा समूहले आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका–१७ रातोपैह्राका ६५ वर्षीय नेपालीको उपचारार्थ स्थानीय आमा समूहले रु ११ हजार ६४५ आर्थिक सहयोग गरेको हो । नेपालीको निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच शुभकामना आमा समूहका अध्यक्ष हिरादेवी अधिकारीले क्यान्सरपीडित नेपालीकी श्रीमती रत्नकुमारी नेपालीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

Advertisement

सबैको सहयोगले क्यान्सरजस्तो रोगसँग लडिरहनुभएका नेपालीको उपचारमा सहयोग पुग्ने उद्देश्यका साथ समूहले सानो भए पनि सहयोग गरेको उपस्थित आमा समूहको सामूहिक धारणा रहेको छ । ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आउनुभएका नेपालीको हाल पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बन्दाबन्दीसँगै उहाँले बाँसका विभिन्न सामग्री बनाएर बिक्री गर्दै आउनुभएको थियो ।

कमाउने श्रीमान्लाई जटिल रोग लागेपछि अहिलेसम्म उपचार गर्दा रु तीन लाखभन्दा बढी खर्च भइसकेको उहाँकी श्रीमती रत्नकुमारी नेपालीले गहँभरि आँशु पारेर दुखेसो पोख्नुभयो ।

यसअघिको उपचारमा स्वास्थ्य बीमा र गाउँपालिकाको सिफारिसमा अस्पतालले केही रकम छुट भएर सुविधा पुगे पनि आगामी दिनमा उपचारका लागि कुनै पनि विकल्प नभएको भन्दै उहाँले विभिन्न सङ्घसंस्था एवं व्यक्तिसँग सहयोगका लागि आग्रह गर्नुभएको छ ।