May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

गुरुयोजना बनाएर झरिया र तुरिया नदी नियन्त्रण शुरु

लुम्बिनी – लुम्बिनी प्रदेश सरकारले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा नदी नियन्त्रणको कार्य शुरु गरेको छ ।

बाढी र कटानका कारण वर्षेनी ठूलो धनजनको क्षति हुन थालेपछि बस्ती जोगाउन गुरुयोजनासहित पहिलो पटक नदी नियन्त्रणको कार्य अघि बढाइएको हो । पहिलो चरणमा बस्ती र पुरातात्विक स्थल जोगाउने गरी झरही र तुरिया नदीको गुरुयोजना बनाएर नदी नियन्त्रणको कार्य शुरुआत गरिएको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले राससलाई जानकारी दिनुभयो । “अहिलेसम्म धेरै शासन व्यवस्था आयो तर नदी नियन्त्रणका लागि कसैको पनि ध्यान गएको थिएन, प्रदेश सरकारले पहिलोपटक गुरुयोजना नै बनाएर नदी नियन्त्रणको कार्य थालनी गरेका हौँ”, उहाँले भन्नुभयो ।

Advertisement

झरही र तुरिया नदीमा आउने बाढीले वर्षेनी ठूलो क्षति पु¥याउने गरे पनि यी दुई नदी नियन्त्रणका लागि अहिलेसम्म कुनै प्रयास भएको थिएन । प्रदेश सरकारले दुवै नदीको उद्गम विन्दुदेखि भारतीय सीमासम्मै नियन्त्रणको कार्य गर्ने उद्देश्यसहित गुरुयोजना बनाएको मन्त्री चौधरीको भनाइ छ । झरही नदी नियन्त्रणका लागि रु दुई अर्ब र तुरिया नदी नियन्त्रणका लागि रु डेढ अर्ब बढीको गुरुयोजना बनाइएको मन्त्री चौधरीले बताउनुभयो । “अहिले दुवै नदी नियन्त्रणका लागि तटबन्ध, सफाइ कार्य धमाधम भइरहेको छ, गुरुयोजना बनाएर काम थालेपछि अहिलेसम्म दुवै नदीमा रु १०÷१० करोडको काम भइसकेको छ”, उहाँले भन्नुभयो । सीमित स्रोतसाधन र कोरोना महामारीका कारण यस वर्ष धेरै बजेट विनियोजन गर्न नसके पनि स्रोतको व्यवस्थापन गरेर क्रमागत रुपमा काम अघि बढाइने उहाँले बताउनुभयो ।

प्रदेश सरकारको बजेटले मात्र अपुग हुने भएकोले सङ्घीय सरकारले थप सहयोग गर्नुपर्ने उहाँले जोड दिनुभयो । मन्त्री चौधरीले नदी नियन्त्रणका लागि भइरहेका कार्यको स्थलगत अनुगमन गर्दै तोकिएको समयभित्र काम सक्न निर्देशन पनि दिनुभयो । बजेटको अभावले काम रोकिन नदिने उहाँले प्रतिबद्धता जनाउनुभयो । बहुवर्षीय योजना भएकाले अबको केही वर्षमै बस्ती तथा खेतीयोग्य जमीनमा बाढी पस्ने र कटान गर्ने कार्य नियन्त्रणमा आउने जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख धु्रव पौडेलले बताउनुभयो । जिल्लाको हुलासी, पानभार, तुरिया, झरहीलगायत नदीमा आउने बाढीको नियन्त्रणका लागि कार्य भइरहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले गुरुयोजना नै बनाएर धमाधम नदी नियन्त्रणको कार्य थालेपछि तटीय क्षेत्रका बासिन्दा खुशी भएका छन् ।

रामग्राम–१ का गोविन्दबहादुर थापाले सरकारले गरेको प्रयास सरहानीय भएको बताउनुभयो । उहाँले भन्नुभयो,“दुई वर्षअघि झरही नदीको यही क्षेत्रबाट पसेको बाढीले सदरमुकाम परासी नै जलमग्न भएको अवस्था थियो, अहिले नियन्त्रणको काम थालिएको छ, यसलाई प्रभावकारी बनाउन आवश्यक छ, हामी खुशी छौँ ।”