March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

बागलुङको दलित बस्तीमा खानेपानीको हाहाकार

हरेक निर्वाचनमा एउटै नारा घन्किन्छ– ‘तपाइँ हामीलाई भोट दिनुहोस् हामी पानी दिन्छौँ ।’ बागलुङ नगरपालिका–८ सिगाना लामीचौर दलित बस्तीमा वर्षौँदेखि खानेपानीको चरम सङ्कट भएपछि निर्वाचनताका यही नारा घन्किए पनि हालसम्म पानी आउन सकेको छैन ।

चुनावताका भोटबैंकको रूपमा चिनिँदै आएको दलित बस्तीकै कारण धेरैले चुनावसमेत चित्दै आएका छन् तर चुनावताका गरिएको खानेपानी पुर्याउने वाचा भने अझै पूरा हुन सकेको छैन । बागलुङ नगरपालिकाभित्रकै सबैभन्दा बढी सुक्खाग्रस्त क्षेत्रका रूपमा चिनिएको लामीचौर दलित बस्ती खानेपानीको सपना दुई दशक बित्दासमेत पूरा हुन सकेको छैन । खानेपानीको आशामा भोट हाल्दै आएका जनता पानीको अभावमा काकाकुलजस्तै बन्दै गएका छन् । हरेक हिउँदमा पानीको प्यास मेट्न नपाएको लामीचौर गाउँ चुनावी नारामा भने घरघरमै पानीका धारा आउने गरेका छन् । दुई सयभन्दा बढी घर रहेको उक्त स्थानमा दलित समुदायका मानिस बसोबास गर्दै आएका छन् । विसं २०५० भन्दा अघि बनेको खानेपानी आयोजनाको उचित मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा छ ।

Advertisement

दुई सय घर परिवारमा जम्मा छ वटामात्रै सामुदायिक धारा रहेका छन् । त्यही धारामा समेत बर्खाको समयमा पानी आउने र हिउँदको समयमा आक्कलझुक्कल मात्रै खानेपानी आउने गरेको स्थानीय मनबहादुर नेपालीले जानकारी दिनुभयो । रेशको बौरमुनीबाट ल्याइएको खानेपानी अहिले मर्मतसम्भारसमेत नहुँदा मुहान सुक्दै गएको छ ।

“कहिलेसम्म दलित बस्तीले खानेपानीको अभाव झेल्दै आउने”, नेपालीले भन्नुभयो, “नगरपालिकाको अन्य स्थानमा खानेपानीको पहँुच पुग्ने, हाम्रोमा किन भएन, यो त दलित माथिकै शोषण भएको छ ।” बर्खामा समेत बस्ती नजिकै रहेको कुवाबाट पानी बोक्नुपर्ने समस्या रहेको छ । हिउँदमा धारो कुर्दा र पानी बोक्दा दिन जाने गरेको स्थानीय समुदायले जनाएको छ । उपल्लो बस्तीमा आउने पानी तल्लो बस्तीमा नआउने भए पनि कसैको चासो नहुँदा वषौंँदेखि दलित बस्तीले खानेपानीको प्यास मेटाउन नपाएको स्थानीय सज्जनकुमार सिंह विश्वकर्माले दुखेसो गर्नुभयो । “त्यस ठाउँको सचेत नागरिक भएको नाताले धेरै पहल र प्रयास गरियो, हालसम्म सार्थकता पाउन सकेको छैन, त्यही पानी उपल्लो बस्तीमा पुग्छ, तर हाम्रो बस्तीमा आउँदैन”, विश्वकर्माले भन्नुभयो, “नयाँ स्रोतको पहिचान आवश्यक छ, छिमेकी गाउँले स्रोत नदिएपछि लिफ्टको विकल्प छैन ।” उहाँले हरेक राजनीतिकर्मीले खानेपानी खुवाउने प्रतिबद्धता गर्न थालेको मात्रै १५ वर्षभन्दा बढी भएको बताउनुभयो ।