March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कमरेडहरुको कब्जामा एनआरएनए स्पेनः संघलाई दलीय राजनीतिबाट अलग्याउने आइसीसीको प्रयास तुहियो

कमरेडहरुको कब्जामा एनआरएनए स्पेनः संघलाई दलीय राजनीतिबाट अलग्याउने आइसीसीको प्रयास तुहियो

गैर-आवासीय नेपाली संघ (एनआरएनए) स्पेनको कार्यसमितिभित्र एआपसमा ‘कमरेड’ भनेर सम्बोधन गर्ने सदस्यहरुले मात्र मनोमानी गर्न थालेपछि स्पेनवासी नेपालीहरुले सिलौटी टाइम्सलाई सम्पर्क गरी खेद प्रकट गरेका छन् ।

एनआरएनए स्पेनको गत जनवरी ३१ मा भर्चुअल रुपमा सम्पन्न साधारण सभाको उत्तरार्धतिर आएर नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ताहरुलाई मात्र बोल्ने अवसर दिइएपछि एनआरएनएलाई दलीय राजनीतिको घेराबाट निकाल्ने आइसीसीको योजना पुनः तुहिएको छ ।

Advertisement

जूम मार्फत गरिएको साधारण सभामा सदस्यहरुबाट फरक धारणाहरु आउन थालेपछि पूर्वनिर्धारित निर्णयहरुमा आफूसित सहमत नहुनेहरुलाई ‘म्युट’ गरेर उनीहरुको आवाज वन्द गरिएको थियो ।

अध्यक्ष देउकाजी गुरुङ नेतृत्वको २९–सदस्यीय कार्यसमितिमा अधिकांश सदस्यहरु स्पेनस्थित नेपाल कम्युनिस्ट पार्टीको कार्यकर्ता भएपछि दलको कार्यकर्ता नरहेका र स्वतन्त्त विचार राख्ने सदस्यहरु पाखा पर्दैआएका छन् ।

“हात उठाउन नपाउने, लेख्न नपाउने, बोल्न नपाउने वा कुनै पनि माध्यमद्धारा आफ्नो धारणा राख्न नपाइने । त्यस्तो पनि साधारण सभा हुन्छ?” – एनआरएनए स्पेनकै एक सदस्यले सिलौटी टाइम्सलाई बताए ।

साधारण सभामा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, आइसीसीका उपाध्यक्ष बद्री केसी, महासचिव डा. हेमराज शर्मा, युरोप संयोजक नारायण आचार्य, उपसंयोजकहरु कृष्ण तिमल्सिना, मुक्त गुरुङ, शुक्रराज न्यौपाने, आइसीसी सदस्य राम शरण सिंखडा, चिन्तामणी साप्कोटा, सुनिल रानाभाट, मानार्थ सदस्यहरु एकराज गिरी, दीपक खरेल, ऋषी श्रेष्ठ र स्पेनस्थित बिभिन्न सामाजिक, जातीय र राजनैतिक संस्थाका प्रतिनिधिहरु उपस्थित थिए ।

स्मरणीय छ, गत बर्षको अप्रिलमा एनआरएनएकी उपाध्यक्ष रविना थापा नेतृत्वको वन-एनसीसी-वन-च्यारिटी कार्यदलले कोभिड–१९ र लकडाउनबाट प्रभावितहरुका लागि सुरु गरेको राहत कार्यक्रम पनि एनएआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ (देउकाजी) र उनका कमरेडहरुले विरोध गरेर उक्त राहत कार्यक्रम बिचमै रोक्नु परेको थियो । यसरी आफू केही नगर्ने र अरुलाई पनि गर्न नदिने राष्ट्रिय परिषदहरुमा एनआरएनए स्पेन अग्रस्थानमा रहिआएको छ ।

त्यस्तै आफूसित बिमति राख्ने पत्रकारहरुप्रति पनि अति नै असहिष्णु रहँदैआएका एनआरएनए स्पेनका अध्यक्ष देउकाजी गुरुङले केही समयअघि राइट नेपाल अनलाइनका सम्पादक भोला लामिछानेबिरुद्द उनलाई स्पेनमा सामाजिक बहिस्कार गराउने एक असफल अभियान समेत चलाएका थिए ।