April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
काठमाडौं महानगरले पाँच नगरपालिकालाई दियो एक–एक करोड

काठमाडौं महानगरले पाँच नगरपालिकालाई दियो एक–एक करोड

काठमाडौं – काठमाडौं महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत उपत्यकाका पाँच वटा नगरपालिकालाई ती नगरपालिका क्षेत्रभित्र धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । दुई वटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने महानगरपालिकाले जानकारी दिएको छ ।

कार्यक्रमपछि महानगरपालिकाले पाँच वटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाका ती नगरपालिकासँग सम्झौतासहित चेक हस्तान्तरण गरे ।

Advertisement

काठमाडौं महानगरपालिकाले २०७७/७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, तारकेश्वर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुउद्देश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको काठमाडौं महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिए ।

सम्झौताअनुसार दक्षिणकाली नगरपालिका क्षेत्रभित्र रहेको वडा–५ गोरखनाथ डाँडामा अवस्थित बहुउद्देश्यीय उद्यान निर्माण हुनेछ । यसअघि पनि सोही उद्यान निर्माणका लागि महानगरपालिकाले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

त्यसैगरी तारकेश्वर नगरपालिकाले भौगोलिक क्षेत्र भित्र रहेको वडा–५ को भ्युटावर र वडा–२ को तारकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माण गर्नेछ । यसअघि तारकेश्वर धाम निर्माणका लागि पनि महानगरले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

त्यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाको भौगोलिक कार्यक्षेत्रभित्र रहेको वडा–१ मा अवस्थित कागेश्वरी मन्दिर र त्यस वरिपरिको क्षेत्रलाई समेटी कागेश्वरी धाम निर्माणका लागि पनि एक करोड रुपैयाँ नै सहयोग गरेको छ । यसअघि पनि सो नगरपालिकालाई एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

त्यसैगरी कीर्तिपुर नगरपालिकामा युद्धस्मारक पार्क निर्माण हुनेछ । कीर्तिपुर नगरपालिकाको भौगोलिक क्षेत्र भित्र रहेको वडा १,२ र १० लाई समेटी त्यहाँ करीब ५५ रोपनी क्षेत्रफलमा युद्ध स्मारक पार्क निर्माण भइरहेको छ ।

त्यस्तै मध्यपुर ठिमी नगरपालिकाको वडा नम्बर–४ मा निर्माणाधीन शंखधर पार्क निर्माणका लागि पनि महानगरपालिकाले थप एक करोड सहयोग गरेको छ । यस अघि पनि महानगरपालिकाले सो उद्यान निर्माणका लागि एक करोड सहयोग गरेको थियो । त्यहाँ पनि करिब १० रोपनी क्षेत्रफलमा मण्डला, एम्पिथिएटर चिः बहालगायत निर्माण हुँदैछ ।

भक्तपुरकै चाँगुनारायण नगरपालिकालाई पनि काठमाडौँ महानगरपालिकाले ताथलीमा उद्यान निर्माणका लागि एक करोड नै दिने भएको छ । सो नगरपालिकाका प्रमुख उपत्यका बाहिर रहेकाले छिट्टै सो सम्झौतामा पनि हस्ताक्षर गर्ने प्रमुख शाक्यले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाले चन्द्रागिरि नगरपालिकालाई पनि मातातीर्थ पार्क निर्माणका लागि एक करोड सहयोग गर्ने भएको छ । उक्त नगरपालिकाका प्रमुख पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेपछि सो नगरपालिकासँग पनि छिट्टै सम्झौतापत्रमा हस्ताक्षर हुने महानगरपालिकाले जानकारी दिएको छ । यसअघि पनि सो नगरपालिकालाई मदन भण्डारी पार्क निर्माणका लगि एक करोड नै सहयोग गरेको थियो ।

केही समयअघि भगिनी सम्बन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई पनि प्रमुख शाक्यले सो क्षेत्रमा मेलम्ची सिटी पार्क निर्माणका लागि एक करोड पचास लाख रुपैयाँ सहयोगको चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण गर्दै प्रमुख शाक्यले सबैको सहकार्यमा मात्रै काठमाडौं उपत्यका र समग्र देशको विकास गर्न सकिन्छ भन्ने सन्देश दिन सहयोग अघि बढाएको बताए । शाक्यले सम्पदा, पर्यटन र पर्यापर्यावरणलाई ध्यानमा राखेर सहयोग गरेको स्मरण पनि गराए ।