March 28, 2024, Thursday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो

काठमाडौँ – चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ । सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको यहाँस्थित देउमाई नगरपालिकाका उद्यमी सोम शर्माले बताउँछन् । 

“पानी नआएकाले चिन्ता थियो । गत साता पानी परेपछि चिन्ता हल भएको छ”, शर्माले भने, “यसपटक अन्तरराष्ट्रिय बजारमा भाउ पनि राम्रो छ । गत वर्ष तयारी चियाको मूल्य रु ९५ थियो भने अहिले रु १०० हाराहारीमा छ ।” 
  
चैतको पहिलो सातादेखि चियाको पहिलो टिपाइ शुरु हुन्छ । फागुन मध्याह्नदेखि अन्त्यसम्ममा आकाश पानी परेमा चियाको उत्पादन बढ्छ । वैकल्पिक उपाय नहुँदा अहिले पनि किसानले आकाशे पानीकै भर पर्नुपर्छ । यदि चैत अन्त्यसम्ममा पानी नपरेमा उत्पादन घट्ने सम्भावना हुन्छ । पटकपटक यो समस्या किसानले भोग्नु परेको छ । 
    
आकाशे पानी सङ्कलनमार्फत पानी सञ्चितीकरण गर्नुपर्ने अर्का चिया उद्यमी उदय चापागाईँको भनाइ छ । बर्खाको पानी सङ्कलन गरेर राख्दा हिउँदमा प्रयोग गर्न सकिने उपाय रच्नुपर्ने चापागाई बताउनुहुन्छ । यस वर्ष चिया बढे पनि तयारी चिया विदेश निर्यात समस्या हुन सक्ने उनको भनाइ छ । कोरोनाका कारण हवाइ भाडा बढेकाले लागत बढेको गुनासो चापागाईँको छ । सरकारले कृषिजन्य सामग्री निर्यातमा बेवास्ता गरेको भन्दै चापागाईँले नाका सहज बनाउन र भाडा घटाउन पहल गर्नुपर्ने बताए । 

Advertisement

किसानलाई तोकिएको मूल्य दिन आग्रह

यहाँस्थित सूर्योदय नगरपालिकाले किसानलाई हरियो चियापत्तीको तोकिएको मूल्य दिन आग्रह गरेको छ । विगतमा विभिन्न बाहानामा उद्योगीले तोकिएको मूल्य दिन आलटाल गरेकोप्रति लक्षित गर्दै नगरले कानून पालना गर्न अनुरोध गरेको हो । 

नगरले चियाको मूल्यमा एकरुपता ल्याउन दुई वर्षअघि चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि बनाएको छ । मापदण्डमा  हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ । किसानले पनि उत्पादन गरेको चियामा ४० प्रतिशत मुना चिया हुनुपर्ने मापदण्डमा छ ।