डेण्टल एशोसिएसनको अध्यक्षमा डा मास्के निर्वाचित
काठमाण्डु – नेपाल डेण्टल एशोसिएसनको अध्यक्षमा डा सुभित मास्के निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि २१ गते र हिजो शनिबार भएको निर्वाचनमा ६०६ मत ल्याएर डा मास्के निर्वाचित भएका हुन् ।
निर्वाचनमा खसेको ९१० मतमध्ये डा मास्केले ६०६ मत ल्याएर निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत डा अनिल शाक्यले जानकारी दिए । उपत्यकाबाहिर ३८१, काठमाण्डु उपत्यकामा ५२५ र ४ वटा पोष्टल भोटिङ भएको थियो ।
यस्तै, महासचिवमा डा गालव अधिकारी र कोषाध्यक्षमा डा निश्चल कुँवर विजयी भएका छन् । एशोसिएसनको चुनाव अध्यक्ष, महासचिव र कोषाध्यक्षका लागि मात्र भएको हो । उपाध्यक्ष, सहसचिव र सदस्यहरूमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
अध्यक्षका लागि डा सुभित मास्के र डा कुम्भराज जोशी चुनावी मैदानमा थिए भने महासचिवका लागि डा गालव अधिकारी र डा जोन गुरुङ, कोषाध्यक्ष पदका लागि डा निश्चल कुँवर र डा चेतन बस्नेत प्रतिस्पर्धामा थिए ।
सहसचिवमा डा विश्व प्रकाश ठाकुर र सदस्यहरूमा डा लोकेश वर्मा, डा हरिप्रसाद वली, डा खिलासा पोखरेल र डा अच्युत भट्ट निर्वाचित भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्